Main News

आर्थिक वर्ष २०८०–०८१ को बजेट सार्वजनिक हुँदै

हिमालय टिभी
२०८० जेठ १५ गते १३:३५
आर्थिक वर्ष २०८०–०८१ को बजेट सार्वजनिक हुँदै

१५ जेठ २०८० काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट आज प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री प्रकाशशरण महतले दिउँसो चार बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आज बजेट सार्वजनिक गर्न लागेको हो ।

आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ । राष्ट्रिय योजना आयोगले अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको थियो ।

बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ । बिलासी बस्तुको आयातमा लाग्ने कर बढ्नेछ ।

विदेशबाट आउने मदिरालगायतको वस्तुको कर बढ्नेछ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ ।

राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *