Main News

प्रधानमन्त्री प्रचण्ड नजाँदै भारत किन भयो असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १४ गते २०:५२
प्रधानमन्त्री प्रचण्ड नजाँदै भारत किन भयो असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारी चलिरहँदा काठमाडौंमा नेपाली सेनाले एक चिनियाँ कम्पनीसँग हतियार खरिद गर्न लागेको खबर बाहिरियो ।

यसमा सत्यता नभएकोभन्दै प्रधानसेनापति प्रभुराम शर्माले हतियार खरिद गर्ने सेनाको कुनै योजना पनि नरहेको प्रष्टीकरण दिनुभयो । तर, भारत नेपालसँग यही विषयमा असन्तुष्ट रहेको छ । उसले असन्तुष्टि पोख्दै प्रचण्डको दिल्ली भ्रमणलाई राजकीय नबनाइ औपचारिक भ्रमण मात्र भनेको छ ।

हालै नेपाली सेनाले चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन नोरिन्कोसँग ६ अर्ब रुपैयाँ बराबरको २६ वटा आर्मोड पर्सोनेल क्यारियर एपीसी र विभिन्न हतियार खरिद गर्न लागेको खबर बाहिरियो । यो कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेको छ ।

यो खबर बाहिरिएसँगै प्रधानसेनापति प्रभुराम शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिलाई दिएको एउटा अन्तर्वार्तामा ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले सेनासँग पर्याप्त हतियार रहेकाले अहिले कतैबाट पनि खरिदको प्रक्रिया अघि नबढाइएको प्रष्ट्याउन खोज्नुभएको छ । तर, भारत यही मुद्दामा नेपालसँग रुष्ट रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रचण्डको भारत भ्रमणको तयारीमा जुटेको साउथ ब्लक पनि असन्तुष्ट बनेको छ । ‘छिमेकी पहिलो’ नीति लिएको भारतले प्रायः नेपालका प्रधानमन्त्रीलाई राजकीय सम्मान नै दिंदै आएको छ । हुन त राजकीय र औपचारिक भ्रमण समानजस्तै लाग्छ, तर कूटनीतिमा यसको भिन्नता हुन्छ । आफू रुष्ट हुँदा वा कम महत्व दिंदा राजकीय भ्रमण बनाउने गरिँदैन । अहिले भारतले आफ्नो असन्तुष्टि भ्रमणको प्रकारबाटै देखाउन खोजेको कूटनीतिज्ञहरु बताउँछन् ।

यतिमात्र होइन, भारतीय संस्थापनले चीनसँग हतियार खरिद गर्नेबारे कडारुपमा प्रस्तुत हुने सन्देश दिइसकेको छ । नेपालले पटक–पटक सेनाका लागि हतियार किन्ने कुनै योजना नभएको भारतीय पक्षलाई सन्देश दिने प्रयास नगरेको होइन । प्रधानसेनापतिलाई नै बोल्न लगाएर सरकारले भारतलाई विश्वास दिलाउन खोजेको छ । तर, पनि यसमा गम्भीर कुरा गर्ने भारतीय संस्थापनको तयारी छ ।

चीन मामिलामा नेपाल नटाँसियोस् भन्ने चाहना अहिलेको भारतले पनि राख्दै आएको छ । उसलाई विश्वासमा लिन सरकारले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट चिनियाँ कम्पनी पावर चाइनालाई हटाउने तयारी स्वरुप कुनै प्रगति नभएकोबारे स्पष्टीकरण सोधेको छ । यो परियोजना भारतलाई नै दिने सरकारी मनशाय देखिएको छ ।

आफू मल्टिपल स्ट्राजेटिक पार्टनरशिप अर्थात बहुरणनीतिक साझेदारीमा उभ्याएको भारत, नेपाललाई भने आफ्नै वरिपरि रहोस् भन्ने चाहन्छ । यसैको परिणाम स्वरुप चीनसँग हतियार किन्ने नेपालको प्रयासमा भारतले शंकाको दृष्टिकोणले हेरेको छ । हतियार किन्ने प्रक्रिया के हो भन्ने विषय बहसको फरक पाटो हुनसक्छ । तर भारतको अब्जेकशन किन भन्ने प्रश्न पनि उस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *