Main News

दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, एमालेले सदन चल्न दिने

हिमालय टिभी
२०८० जेठ १३ गते १३:४३
दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, एमालेले सदन चल्न दिने

१३ जेठ २०८० काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरुबीच पशुपतिको जलहरी प्रकरणबारे संसदमा माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।

संसद् सुचारु गराउन सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले जानकारी दिनुभयो । तीन दलबीचको सहमति भएसँगै एमालेले संसदमा अवरोध नगर्ने भएको छ ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्थ्यो ।

जेठ ९ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद दाहालले एमाले अध्यक्ष ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो । जलहरी प्रकरणमा अध्यक्ष ओलीलाई जोडेको भन्दै एमालेले हिजोको संसद बैठक अवरुद्ध गरेको थियो ।

यसपछि आज दिउँसो ४ बजे बस्ने गरि बैठक स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *