Main News

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

जेठ १८ गते भारतीय समकक्षी मोदीसंग वार्ता

हिमालय टिभी
२०८० जेठ १३ गते १३:४०
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

१३ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको जेठ १७ गतेदेखि हुने भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नुुहुनेछ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

कम्युनिष्ट नेता प्रचण्डले उज्जैनमा रहेको महाकालको मन्दिर दर्शन गर्ने कार्यक्रम समेत रहेको छ । अमेरिकाले नेपालमा सत्तारुढ भारतीय जनता पार्टीको हिन्दु धर्मका लागि धार्मिक लगानी रहेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री मन्दिर दर्शन गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *