नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना आरोपी पक्राउ

१२ जेठ २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
यस प्रकरणमा ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले ३० जना विरुद्ध जेठ १० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । महर्जन फरार रहेको उल्लेख गरिएको थियो । उनी सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई पक्राउ गरिएको थियो । यो प्रकरणमा अझै १३ जना फरार छन् । उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकीलको कार्यालयले ३० जना विरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी गरी चार कसूरमा अभियोग दर्ता गरेको छ । उनीहरूबाट २८ करोडभन्दा बढी रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसैबीच पक्राउ परेका अन्य १६ जनाको जिल्ला अदालत काठमाडौंमा बयान शुरु भएको छ । मुद्दाको पेशी न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट शुरु गरिएको छ ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा दुलालको नाम समावेश भएको कारण पहिलो बयान उनकै लिइएको हो । बयान सकिएपछि मात्र थुनछेकको बहस थालिने छ । त्यसपछि प्रतिवादीलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।
प्रतिक्रिया