Main News

रुकुम पश्चिमको सोती घटना, पीडितले पाएनन् न्याय (भिडियो रिपोर्टसहित)

२०८० जेठ १० गते २०:५९
रुकुम पश्चिमको सोती घटना, पीडितले पाएनन् न्याय (भिडियो रिपोर्टसहित)

१० जेठ २०८० काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ स्थित सोतीमा नवराज विक सहित ६ जनाको ज्यान गएको घटनाको तीन वर्ष पुरा भएको छ । गैरदलितको छोरी भगाउन आएको भन्दै केटीका परिवार र गाउँले मिलेर विक र उनका साथीहरुलाई लखेटी लखेटी हत्या गरेका थिए ।

२०७७ जेठ १० गते प्रेमिकालाई भगाएर बिहे गर्ने उद्देश्यले जाजरकोटस्थित भेरी नगरपालिका वडा नम्बर ४ का नवराज विक साथी लिएर रुकुम पश्चिमको चौरजहारी वडा नम्बर ८ स्थित सोती भन्ने ठाउँमा पुगे । कथित तल्लो जातको केटाले छोरी भगाउन आएको भन्दै केटीका परिवारसहित गाउँले मिलेर विक र उनका साथीहरुलाई कुटपिट गर्दै लखेट्न थाले ।

भाग्दै गरेका उनीहरुलाई गाउँलेहरुले ढुंगा, लाठी, घरेलु हतियारसहित आक्रमण सुरु गरेपछि भेरी नदिमा हाम फाल्न बाध्य भएको थिए । आक्रमणमा परेर विक सहित ६ जनाको ज्यान गयो र अन्य १२ जना घाइते भए । घटनापछि प्रतिनिधिसभा अन्तर्गत संसदीय छानविन समिति पनि गठन गरियो ।

उक्त समितिले जातीय छुवाछुत र विभेदका कारण घटना भएको निश्कर्ष निकालेको थियो । प्रहरीले पनि घटनाको अनुसन्धान गरी सामुहिक हत्या, कर्तव्य ज्यान, जातीय विभेद र छुवाछुत लगायतको आरोपमा ३४ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले आरोपित मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न, २ जना बालबालिकालाई सुधार गृहमा राख्न, तीन जनालाई साधारण तारेखमा र नवराजकी प्रेमिका भनिएकी केटीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

उक्त आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत सुर्खेतमा पुगे । उच्च अदालतमा दुई न्यायाधीशका बीचमा राय बाझिएपछि अन्त्यमा जिल्ला अदालतकै निर्णयअनुसार विककी प्रेमिकाकी आमालाई धरौटीमा छाड्ने निर्णय सहित दुई बालबालिकालाई संरक्षकको जिम्मा लगाउन आदेश दिएको थियो ।

त्यस्तै उच्च अदातले अन्य ५ जनालाई जनही एक एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अहिले २२ जना थुनामा छन् । घटनाका पीडितले अहिलेसम्म न्याय नपाएको भन्दै बुधबार संसदमासमेत कुरा उठेको छ ।

सामूहिक हत्या, कर्तव्य ज्यान तथा जातीय विभेद र छुवाछुत जस्तो गम्भीर मुद्दाका पीडितले अहिलेसम्म न्याय नपाउनुले नेपालको न्याय प्रणाली पीडितको पक्षमा कति उत्तरदायी छ भन्ने प्रश्न समेत खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *