Main News

मधेश : मन्त्रिपरिषद विस्तारले गठबन्धनमा दरा, माओवादी सरकारबाट बाहिरियो (भिडियो रिपोर्टसहित)

२०८० जेठ ९ गते २१:३०
मधेश : मन्त्रिपरिषद विस्तारले गठबन्धनमा दरा, माओवादी सरकारबाट बाहिरियो (भिडियो रिपोर्टसहित)

९ जेठ २०८० धनुषा । नेपाली कांग्रेसलाई विकासे मन्त्रालय दिएर आफूलाई विनाविभागीय बनाएपछि मधेश प्रदेशमा जनमत पार्टी सत्तापक्षसँग रुष्ट छ ।

गठबन्धनको मर्म अनुसार नचलेको भन्दै माओवादीले मन्त्री फिर्ता गर्ने निर्णय गर्दा लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सामेल भएन । सत्तासहयात्री दलहरु असन्तुष्ट रहँदा मुख्यमन्त्री सरोजकुमार यादवको तनाव बढेको छ भने मधेशको राजनीति अस्थिरतातर्फ धकेलिने देखिएको छ ।

मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव मंगलवार नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एक गरि तीनजना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

कांग्रेसबाट मधेश प्रदेश सभापती तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास, मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका सांसद वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या र नेकपा एकीकृत समाजवादी पार्टीका मधेश संसदीय दल नेता गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सहित पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । रोजेको मन्त्रालय नपाउँदा सत्ता सहयात्री दलका नेता मुख्यमन्त्री यादवसँग असन्तुष्ट छन् ।

सपथ ग्रहण समारोहमै पनि मुख्यमन्त्री यादव बेचैन देखिनुहुन्थ्यो । एक घण्टा ढिलो पुगेका मुख्यमन्त्री सपथ ग्रहण कार्यक्रमको अधिकांश समय फोनमै व्यस्त देखिन्थ्यो ।

जनमत पार्टीसँग कृषि र शिक्षासहितका मन्त्रालय खोसेर एकजना मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रालयविहीन बनाइदिएको भन्दै जनमत मुख्यमन्त्रीसँग चिढिएका छन ।

आफुसँग कुनै सल्लाह नै नगरी कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीको सपथ गराएको भन्दै माओवादी संसदीय दलले मन्त्री फिर्ताको निर्णय नै गरेको छ । यद्यपी मुख्यमन्त्री यादव भने माओवादीले त्यस्तो निर्णय गर्न नसक्ने दाबी गर्नुहुन्छ ।

पार्टीले मन्त्रीको नाम पठाउन नसकेकाले यो चरणमा लोसपा सरकारमा नसमेटिएको मुख्यमन्त्री यादवको दाबी छ । जनमत र जसपालाई विना विभागी मन्त्री बनाइएपनि सहमति गरेर मन्त्रालय टुंगो लगाइने मुख्यमन्त्रीको आश्वासन छ । सपथ लिएका मन्त्रीले भने अन्य दलका असन्तुष्टीबारे आफू जानकार नभएको दाबी गर्छन् ।

माओवादीले एक मन्त्री र राज्यमन्त्री फिर्ता बोलाएको भनिएपनि मन्त्रिपरिषद् विवरणमा मन्त्रीको नाम यथावत् छ । यस्तै जनमत पार्टीका शिक्षा तथा समाज कल्याण मन्त्री जनमत पार्टीका महेशप्रसाद यादवको नाम पनि यथावत छ ।

जनमतबाट यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा र सोहि मन्त्रालयका राज्यमन्त्री सञ्जयकुमार यादवलाई विना विभागीय तोकिएको छ । आफूलाई पाखा लगाइएपछि माओवादी, लोसपा र जनमतका नेताहरु छलफलमा जुटेका छन् ।

सम्मानजनक मन्त्रालय नपाए त्यसपछि के गर्ने भन्ने विषयमा समेत रणनीति बनाइरहेका छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउनका लागि ५४ सिट आवस्यक पर्छ । माओवादी, लोसपा र जनमतको संख्या तीस हुन्छ । यी तीनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए यादव नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *