हेरेरै दीर्घरोग निको पारिदिने भन्दै सीमान्त केसीको ‘ठगी’ (भिडियो रिपोर्टसहित)

९ जेठ २०८० काठमाडौं । अप्रमाणित तथ्य वा हल्लाको पछि लाग्नु हाम्रोजस्तो समाजको चरित्र हो। अझ, पछिल्लो समय त सामाजिक सञ्जालका कारण मानिसहरु सबै कुरा सही नै हो कि भन्ने भ्रममा परिरहेका छन्।
जस्तोः सामाजिक सञ्जालमा भाइरल रहेका सीमान्त केसी भनिने भरत भट्टराईको हर्कत। उनी हेरेरै दीर्घरोग निको पारिदिने भन्दै सर्वसाधारणलाई भ्रममा पारेर ठगिरहेका छन्।
यि आफूलाई अलौकिक गुरु भन्ने सीमान्त केसी। वास्तविक नाम चाहिँ भरत भट्टराई। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएसँगै यिनको धन्दा मौलायो। र, कम्पनी खोलेरै धन्दालाई बैधानिकता दिन खोजे।
भरत भट्टराई उर्फ सीमान्तले वैशाख १९ गते कम्पनी रजिष्टारको कार्यालयमा अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष कम्पनी दर्ता गराए। र, तोर्केश्वर नगरपालिका(७ कार्यालय खोले। यसअघि यिनी घुमुवा जसरी डुली हिंड्थे।
बिरामी हेर्ने भन्दै यिनी काठमाडौं र काठमाडौंबाहिरका विभिन्न ठाउँमा पुगेका छन्। र, पुगेका स्थानीयको ठाउँमा घुँइचो पनि लाग्थ्यो। यिनी बिरामीलाई छोएको, हेरेको र तेल लगाएको भरमा जुनसुकै रोग पनि निको पार्ने दाबी गर्छन्।
केही दिनअघि काठमाडौंको तार्केश्वर-७ फुटुङस्थित पुतली अधिकारीको घर भाडामा लिएर बिरामी हेर्न थालेपछि थामिनसक्नु धुँइचो लाग्यो। स्थिति नियन्त्रणमा लिन प्रहरीलाई समेत हम्मे(हम्मे परेपछि वडा कार्यालयले प्रहरीकै प्रशासनको भट्टराईको परामर्श केन्द्र बन्द गरायो।
कम्पनी नै दर्ता गरेर ल्याएपछि वडा कार्यालयले पनि भट्टराईको कम्पनीलाई सूचीकरण गरिदियो। अर्थात् भट्टराईले वडा कार्यालयकै अनुमतिमा परामर्श केन्द्र खोले। तर, पछि व्यवस्थापन गर्न नै सकस भएपछि तत्कालका लागि वडाले नै बन्द गरिदिएको छ भट्टराईको परामर्श सेवा केन्द्र।
भट्टराई स्वयमले आफूलाई अलौकिक शक्ति प्राप्त दाबी गर्नुबाहेक बिरामीलाई उनीसँग परामर्श दिने विज्ञता के छ भन्नेबारे कसैलाई जानकारी छैन। बिना आधार एउटा लहडीले स्वास्थ्यजस्तो संवेदनशिल बिषयमा परामर्शदाताको नाटक गरिरहेको छ। र, त्यो नाटक पत्याउने पनि छन्।
भट्टराईले भ्रम सिर्जना गरेर सर्वसाधरणलाई ठगिरहेको बारे प्रहरी जानकार छ। तर, एक्सन लिन सकिरहेको छैन। तत्कालका लागि भीडभाड रोकेको बताउने प्रहरी भट्टराईलाई कानूनी प्रक्रियामा ल्याउन अनुसन्धान जारी रहेको बताउँछ।
आफूलाई सिमान्त केसीको नाममा सामाजिक सञ्जालमा परिचय दिएका भट्टराईको घर मोरङको पथरी शनिश्चरे नगरपालिका(७ मा रहेको खुलेको छ। बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीको अभियोगमा एक वर्ष जेल सजायँ भुक्तान गरेपछि केही समय गायब भएका भट्टराई एकाएक अलौकिक गुरुका रुपमा सामाजिक सञ्जालमा प्रकट भएका हुन्। सर्वसारधणलाई ठग्नकै लागि केसीले कतिपय प्रभावशाली व्यक्तिसँग निकट सम्बन्ध देखाउने गर्छन्।
केसी केहीयता प्रतिबिरामी एकहजार रुपैयाँसम्म लिएर दीर्घरोगीको संवेदनशील स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन्। विशेषज्ञता बेगर पैसा लिएर बिरामीलाई परामर्श दिनु ठगी पनि हो। तर, राज्यका निकाय सीमान्त पुगेका ठाउँमा भीड नियन्त्रणमा मात्र सक्रिय हुन्छ, सीमान्तको धन्दा रोक्न होइन।
प्रतिक्रिया