Main News

बंगलादेशलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

हिमालय टिभी
२०८० जेठ ९ गते १८:००
बंगलादेशलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

९ जेठ २०८० काठमाडौं । घरेलु टोली नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराउँदै एक बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन । अब भोलि हुने नेपाल र भारतबीचको खेलको विजेता समूह विजेता हुनेछ । नेपालको दुई खेलबाट ६ अंक छ ।

भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेश अंकविहीन छन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ । नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले पराजित गर्‍यो ।

बंगलादेशविरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरे । मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्तिकला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन । हिजो मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

समूह ए अन्तर्गत आज भएको खेलमा भारतले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकालेको थियो । भारतले किर्गिस्तानमाथि २५–१७, २५–८ र २५–८ को सहज जित निकालेको हो ।

समूह बी अन्तर्गत आजै भएको खेलमा काजकिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको छ । काजकिस्तानले श्रीलंकालाई २५–१६, २८–२६, १८–२५ र २९२७ ले पराजित गरेको हो ।

आजको अन्तिम खेलमा समूह बीका उज्वेकिस्तान र मालदिभ्सबीच साँझ साढे ६ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *