
८ जेठ २०८० दाङ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल जसपा र जनमत पार्टीका एक एक जना थपेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो।
नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बन्न भएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ आजै दिउँसो चार बजे हुनेछ । दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ ।
नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
तीन मन्त्री थपिए पनि सरकारले भने पूर्णता पाएको छैन। यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथ ग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो।
कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
प्रतिक्रिया