Main News

कञ्चनपुरमा दोदा नदी कारण सास्ती, वारपार गर्न शुल्क (भिडियो रिपोर्टसहित)

२०८० जेठ ७ गते १८:१४
कञ्चनपुरमा दोदा नदी कारण सास्ती, वारपार गर्न शुल्क (भिडियो रिपोर्टसहित)

७ जेठ २०८० कैलाली । कञ्चनपुरको दोदा नदीमा पुल नहुँदा लामो समयदेखि स्थानीय कष्टकर यात्रा तय गर्न बाध्य छन् ।

हिउँदमा पैसा तिरेर नदी वारपार गर्न बाध्य २२ वटा गाउँका स्थानीयको आवतजावत बर्षा लागेपछि ठप्प हुन्छ । त्योभन्दा बढी पीडा दोदा नदीले कुन बेला घरखेत बगर बनाइदेला भन्ने चिन्ताले दिन्छ ।

दोदा नदीमा पक्की मोटेरेबल पुलका लागि पिलरहरू ठडिएको ६ वर्ष भयो। पुलको यी पिलर अलपत्र छन । त्यही नजिकै बाँस र काठको प्रयोग गरेर काठेपुल निर्माण गरिएको छ । त्यही पुल तर्न पनि स्थानीय शुल्क तिर्न बाध्य छन् ।

कञ्चनपुरको लालझडी गाउँपालिकको देखतभुली र जाईं जोड्ने दोदा नदीमाथि पुल बनाउन थालिएको पाँच वर्षभन्दा बढी भइसक्यो । राजेन्द्र लुम्बिनी कुमार श्रेष्ठ जेभीले २०७४ मा २४ करोड पुल निर्माणको ठेक्का लिएको थियो । तर चारवटा पिलर बनाएर पुल निर्माणको काम अलपत्र पारिएको छ ।

परीक्षण गर्दा पिलरको फाउण्डेसन मापदण्ड अनुसार नभएको पाइएपछि स्थगित गरिएको हो । अहिले नागरिक नदीमा ठडिएका चारवटा पिलर हेरेर असुरक्षित काठेपुल तर्न बाध्य छन् । पुलबाट साइकल तार्न १० रुपैयाँ र मोटरसाइकल तार्न ४० रुपैयाँ शूल्क तिर्नुपर्छ ।

स्थानीय सरस्वती रानाले काठे पुल बनाउनुभएको हो । ४० हजार लगानी गरेर बनाइएको पुलबाट आएको आम्दानीले सरस्वतीले घर खर्च चलाइरहनुभएको छ ।

केही दिनअघि निर्माण कम्पनी र सडक डिभिजनले पुल निर्माणको अनुगमन गरेको थियो । अब छिटै काम सुरु गर्ने सडक डिभिजन कार्यालयको दाबी छ ।

बर्खा लागेपछि अस्थायी पुल पनि बाढीले बगाउँछ अनि २२ गाउँका नागरिकको नदी तर्ने विकल्प बन्द हुन्छ । सडक डिभिजन कार्यालयले पुल निर्माण शुरु हुने दाबी गरे पनि नागरिकले विश्वास गरेका छैनन ।

स्थानीय नागरिकलाई वर्षा सुरु हुनै लाग्दा दोदा नदीमाथि तत्काल पुल बनाउन सम्भव छैन भन्ने राम्ररी बुझेका छन। पुलको विषयमा स्थानीयदेखि संघीय सरकारसम्म जानकार छन । स्थानीयले पटक पटक दबाब दिए पनि काम अघि बढेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *