Main News

बागमती प्रदेश सरकार विस्तार, ६ जना मन्त्री थपिए

हिमालय टिभी
२०८० जेठ ७ गते १५:५७
बागमती प्रदेश सरकार विस्तार, ६ जना मन्त्री थपिए

७ जेठ २०८० हेटौंडा । बागमती प्रदेश सरकार विस्तार गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री हुनुभयो ।

कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री हुनुभएको छ। नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री नियुक्त हुनुभयो ।

मन्त्रिपरिषदमा कांग्रेसका ६, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका चित्रकारको मन्त्रालय तोकिएको छैन ।

कांग्रेस र माओवादी केन्द्रले लिएको मध्ये एउटा मन्त्रालय फुटाएर मन्त्रालयको भागबण्डा मिलाउने गठबन्धनको तयारी छ । यसअघि नै नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री हुनु भएको थियो ।

बागमतीमा गत पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि फागुन १३ मा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो । त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *