Main News

राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री

२०८० जेठ ६ गते १६:३८
राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री

६ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताउनुभयो । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कङ्गाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढङ्गले राम्रो रहेको बताउनुभयो ।

“मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्याङ्क र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्याङ्कको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्याङ्कलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । “नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।”

भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गतल रहेको उल्लेख गर्दै उहाँले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताउनुभयो । “पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखाँै श्रमिकको जीवन र भविश्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।”

सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उहाँको भनाइ छ । “यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमशः समाधान गर्दै जान थालेका छौँ, मुख्यतः भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।”

सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताउनुभयो । “कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पु¥याएर छाडिन्छ”, उहाँले भन्नुभयो ।

कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शङ्का गर्ने गरिएको उहाँको भनाइ छ । “हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरु निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले सदनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याउनुभयो ।

“अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नुपर्ने केही कारण छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *