देशको अवस्था चिन्ताजनक रहेको अध्यक्ष ओलीको दाबी
३ जेठ २०८० काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अबस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।
काठमाडौंमा मदन आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सिमित रहेको भन्दै अबस्था चिन्ताजनक रहेको बताउनु भएको हो ।
उहाँले सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको भन्दै कांग्रेसलाई राजनीतिक भन्न पनि मन नलाग्ने स्थितिमा पुगेको बताउनु भयो ।
अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सिमित रहेको पनि टिप्पणी गर्नुभयो ।
यता दिवसकै अबसरमा आयोजिक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अलोकतान्त्रिक बनेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले अलोकतान्त्रिक बनेको एमाले जबजबाट विचलित भएको आरोप लगाउनु भएको हो ।
अध्यक्ष नेपालले कांग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको समेत टिप्पणी गर्नुभयो ।
यता दिवसकै अबसरमा पूर्वराष्ट्रपति एवं मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीले कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । र, एमालेले त्यसलाई हत्या भन्दै आएको छ ।
तर मदन पत्नी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति र मदनका समकालीन नेताले पटक पटक सरकारको नेतृत्व गर्दा पनि जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बनेको छ ।
प्रतिक्रिया