Main News

नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

२०८० जेठ १ गते १७:३९
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

१ जेठ २०८० काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ ।

सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो । सो समिति १६ सदस्यीय छ ।

समितिले सात दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ । सांसद पौडेलले गर्नुभएको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन गर्नुभएको थियो ।

त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावलाई सदनको सर्वसहमतिले सम्बन्धित समितिलाई पठाइएको छ ।

यस्तै, बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बस्नेतको ७८ वर्षको उमेरमा गत वैशाख २९ गते शुक्रबार निधन भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *