सत्तारुढ दलकै सांसद गौतम अनशनमा (भिडियो रिपोर्टसहित)
३१ वैशाख २०८० बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल २०७४ सालमा सम्पन्न नहुँदै भत्कियो ।
पप्पु कन्ट्रक्सनले बनाएको यो पुल भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन् । चुनावी नारा नै बनाइएको यो पुल नबनेपछि नेपाली कांग्रेसबाट निर्वाचित सांसद सञ्जय गौतम पुल निर्माणको माग राख्दै आमरण अनशनमा बस्नुभएको छ ।
बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जानका लागि गाडीको बाटो छैन । जयनगर–गुलरियाको १३ किलोमिटर दूरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानुपर्छ ।
जब्दीघाटको पुल भासिएपछि अहिलेसम्म बनाउने सुरसार छैन । यही पुललाई देखाएर निर्वाचित हुनुभएका नेपाली कांग्रेसका सांसद सञ्जय गौतम अन्ततः शनिवार रातिदेखि आमरण अनशनमा हुनुहुन्छ ।
अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन् । जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ । साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ । मोटरसाइकलमा एक जनाको २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ ।
अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ । चुनावको बेलामा सांसद गौतमले एक महिनाभित्र जब्दीघाटमा वैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको थियो । तर, अहिलेसम्म पूरा भएन ।सदन र सडकबाट माग उठाए पनि पूरा नभएपछि अन्ततः उहाँ अनशनमा बस्नुभएको छ ।
सांसद गौतमले विभिन्न १५ बुँदे माग अघि सार्नुभएको छ । त्यसको एक नम्बर बुँदामा जब्दीघाट पुलकै कुरा छ । त्यसबाहेक तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल–बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारिएको छ ।
एकथरीले भने चुनावका बेलामा आफैंले गरेको वाचा पूरा नभएपछि गौतमले अनसनको नाटक गरेको आरोप भने लगाइरहेका छन् । २०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै पुलका तीनवटा स्पान भासिएका थियो । २०७४ साल साउन २९ गते आएको बाढीले पुल भासिएको थियो भने गत असोज २२ गते आएको बाढीले १७ वटा स्पान मध्ये पूर्व तर्फको तीनवटा स्ल्याप र स्पान बगाएको थियो ।
प्रतिक्रिया