Main News

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

हिमालय टिभी
२०८० वैशाख ३१ गते २०:५९
एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।

फरार भएको ११ औं दिनमा प्रहरीले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी लगायत निकायबाट खटिएको टोलीले रायमाझीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

दुई साताअघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए । गत २० बैशाखमा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको सार्वजनिक भएको थियो ।

त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए । तर, त्यो दिन काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैं प्रहरीमा उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी टोली फर्किएको थियो ।

प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने २० बैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ । सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *