Main News

प्रतिबन्धित भारतीय नोट र नक्कली नेपाली नोटको तस्करी (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३१ गते १६:४१
प्रतिबन्धित भारतीय नोट र नक्कली नेपाली नोटको तस्करी (भिडियो रिपोर्टसहित)

३१ वैशाख २०८० पर्सा । मधेश प्रदेशमा केही समयदेखि प्रतिबन्धित भारतीय नोट र नक्कली नेपाली नोटको तस्करीमा व्यापक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षमा मात्रै ३४ लाख २० हजार ९ सय २० रुपैयाँ नेपाली र ३ लाख ७८ हजार ९ सय ७० नक्कली भारतीय नोट बरामद गरिएको छ । नक्कली नोटको बिगबिगीका कारण मधेशका व्यापारी र सर्वसाधारण आतंकित बनेका छन् ।

–वैशाख ४ मा महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित दसगजा नजिकै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका–१ बस्ने कृष्णकुमार यादवको साथबाट नेपाली १ हजारको नक्कली नोट एक थान बरामद

–वैशाख १२ मा धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट धनुषाका २५ वर्षीय अनुकुमारी साहले बोकेको कालो झोलाबाट ७ लाख ७१ हजार ५सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद

– वैशाख २० मा प्रतिबन्धित ६ लाख रुपैयाँ बराबरको भारतीय नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ

यी तीन प्रतिनिधि घटना मात्रै हुन् । मधेशका आठवटै जिल्ला भारतीय सिमासँग जोडिएको र खुला सिमाकै कारण अवैध रुपले भारतबाट नेपाली र भारतीय नक्कली नोट बरामद हुने सिलसिला बढेको छ । प्रहरीले सार्वजनिक गरेको चैत महिनासम्मको खोटाचलन विवरण अनुसार मधेश प्रदेशमा नक्कली नोटसहित पक्राउ परेको ३१ वटा घटना भएका छन् । सबैभन्दा बढी रौतहटबाट नक्कली नोट बरामद गरिएको छ ।

कुन जिल्लामा कति ? बरामद रकम
सर्लाही- ६ ९६ हजार
रौतहट-११ १ लाख २८ हजार
पर्सा-३ ११ हजार
सिराहा-४ ४ लाख ७३ हजार
बारा-२ ९ लाख ८२ हजार ५ सय
सप्तरी-१ ९ लाख ७६ हजार
महोत्तरी-३ भारतीय २ हजार ४ सय र नेपाली ११ हजार ५ सय
धनुषा -१ एक हजार

चालु आर्थिक वर्षमा मधेश प्रदेश मै आतंकित मच्चाउने गरी नक्कली नोट बरामद हुँदा व्यापारीदेखि सर्वसाधारण त्रसित भएका छन् । तस्करी बढेसँगै नाकामा विशेष सुरक्षा सतर्कता भने बढाइएको प्रहरीले जनाएको छ ।

दुई देशका नागरिक सीमावर्ती बजारमा आउजाउ गर्छन् । कारोवार भइरहने हुँदा नक्कली नोटको प्रयोग गर्न तस्करका लागि त्यही उत्तम स्थान हो । र, खुला सीमा हुँदा लुकेर जंगलको बाटो हुँदै ल्याउँदा नक्कली नोट नियन्त्रण गर्न मधेशमा चुनौती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *