Main News

नेताका स्वकीय सचिव छोरा-छोरी वा नातेदार ! (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २९ गते २०:५२
नेताका स्वकीय सचिव छोरा-छोरी वा नातेदार ! (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०८० काठमाडौं । नेता तथा सांसदहरुले स्वकीय सचिवमा परिवारकै मान्छे तथा नातेदार राख्ने गरेकोमा विगतमा धेरै पटक प्रश्न उठ्दै आएको छ ।

विगतमा योग्यता नपुगेपनि सरकारी सुविधा लिन र आफ्न्तलाई रोजगार बनाउन नातेदारलाई स्वकीय सचिवमा नियुक्त गर्ने गरेको आरोप लाग्दै आएकोमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेतासँगै उनीहरुका स्वकीय र नजिकका नातेदारका व्यक्तिकै संलग्नता भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि गलत कामको ढाकछोपका लागि नै नेताहरुले नातेदार र निकटलाई स्वकीय सचिवमा नियुक्त दिने गरेको आशंका उब्जिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव हुनुहन्छ छोरी गंगा दाहाल । शान्तिप्रक्रियामा आएपछि छोरा प्रकाश दाहाललाई प्रमुख सहयोगी बनाएका दाहालले प्रकाशको निधनपछि छोरी गंगालाई स्वकीय सचिवको जिम्मेवारी दिँदै आउनु भएको छ । भतिज नाता पर्ने भानु देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव हुुनुहुन्छ । भानुले देउवाको स्वकीयको रुपमा लामो समयदेखि काम गर्दै आउनु भएको छ ।

नेकपा माओवादीका नेता तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले स्वकीय सचिवमा भतिज राजन पौडेललाई नियुक्त गर्नु भएको छ । माओवादीकै तर्फबाट प्रतिनिधिसभा सदस्य तथा मन्त्री महेन्द्रराय यादवले भान्जा सत्यप्रकाश यादवलाई स्वकीयको जिम्मेवारी सुम्पनु भएको छ । माओवादीकै अर्का नेता तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले छोरा रुपक तामाङलाई स्वकीय सचिव बनाउनु भएको छ ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी शोभा ज्ञवालीले श्रीमान् कृष्णप्रसाद खनाललाई स्वकीयको जिम्मेवारी दिनु भएको छ । एमालेकै अर्का सांसद मंगलप्रसाद गुप्ताले भतिज बृजेशकुमारलाई स्वकीय सचिव नियुक्त गर्नु भएको छ ।

राप्रपाबाट प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले आफ्नै बहिनी पवित्रालाई स्वकीय सचिवको जिम्मेवारी प्रदान गर्नु भएको छ । नेकपा एसको तर्फबाट प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले भतिज सन्तोष बीसीलाई स्वकीय सचिवको जिम्मेवारी दिनु भएको छ ।लोसपा सांसद रामप्रकाश चौधरीले पनि भतिज आषिश चौधरीलाई स्वकीयमा नियुक्त गर्नु भएको छ ।

यी प्रतिनिधि उदाहरण हुन्, जस्ले स्वकीय सचिवमा नजिकका नातेदारलाई नियुक्त दिएका छन् । आफ्ना गोप्य कुरा बाहिर नजाने र फसाउने डर पनि नहुने भएकाले स्वकीय सचिवमा नजिकका नातेदार रोजाइमा पर्ने गरेको जानकार बताउँछन् ।

उदाहरणका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा नै पक्राउ परिसकेका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाणसंगै उहाँका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । यस्तै श्रीमती मञ्जु खाण पनि छानविनको दायरमा हुनुहुन्छ । यस्तै यही प्रकरणमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै उनका छोरा पनि यो प्रकरणमा मुछिएका छन् ।

विगतमा पनि भ्रष्टाचार लगायतका अनियमितताका घटनामा नेताहरुसंगै स्वकीय सचिव पनि मुछिने गरेका छन् । यस्ले के देखिन्छ भने नेताहरुले भ्रष्टाचार गर्नमा स्वकीय सचिवले पनि प्रत्यक्ष-अप्रत्यक्ष भूमिका निर्वाह गर्छन् । कतिपय अवस्थामा स्वकीय सचिवकै कारण नेताहरु फस्नबाट बच्छन् भने कतिपय अवस्थामा स्वकीय सचिवकै गल्तीका कारण उनीहरु पनि मुछिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *