Main News

अभियुक्त बचाउन लागेको भनेर हल्ला फैलाइयो : एमाले अध्यक्ष ओली

हिमालय टिभी
२०८० वैशाख २३ गते १५:२३
अभियुक्त बचाउन लागेको भनेर हल्ला फैलाइयो : एमाले अध्यक्ष ओली

२२ वैशाख २०८० काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटबारे प्रष्ट नपारेपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बचाउन खोजेकोभन्दै आफूविरुद्ध हल्ला फैलाइएको बताउनुभएको छ ।

सिंहदरवारमा आज प्रधानमन्त्री प्रचण्डसँग १ घण्टा छलफल गरेका अध्यक्ष ओलीले नक्कली शरणार्थीबारे कुरा नभएकाे बताएपनि के विषयमा छलफल भयो भन्नेबारे प्रष्ट्याउनुभएन । उहाँले सञ्चारकर्मीको प्रश्नमा अभियुक्तलाई बचाउन खोजेकोभन्दै आफ्ना विरुद्ध हल्ला फैलाइएको टिप्पणी गर्नुभयो । शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकोबारे अर्को प्रश्नमा ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने शरणार्थी प्रकरणमा ओलीले अनुसन्धानकाबारे सामान्य जानकारी माग्नुबाहेक थप प्रस्ताव नगरेको जानकारी दिनुभयो । उहाँले कतैबाट प्रभावित नभइ अनुसन्धान सहजरुपमा हुने बताउँदै दोषीमाथि कारवाही हुने प्रतिवद्धता जनाउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओलीले तीन दिनभित्र दोस्रो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको हो । बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो भने ओलीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर चासो राख्नुभएको थियो । रायमाझी बिहीबारबाटै फरार हुनुहुन्छ । सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *