Main News

स्थानीय सरकारका प्रमुख कर्मचारी खोज्दै सिंहदरबारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १७ गते २०:४४
स्थानीय सरकारका प्रमुख कर्मचारी खोज्दै सिंहदरबारमा (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०८० काठमाडौं । मुलुकका डेढ सय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन छन् । ती स्थानीय तहका प्रमुखहरु अहिले प्रमुख प्रशासकीय अधिकृत खोज्दै सिंहदरबार आइपुगेका छन् ।

चालू वर्षको बजेटको भुक्तानी दिनुपर्ने र नयाँ बजेट निर्माण गर्नुपर्ने बेला भएपछि जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत माग्दै सिंहदरबार आइपुगेका हुन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु । यतिबेला उहाँ आफ्नो स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पठाईदिन माग राख्दै सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहनुभएको छ ।

यसअघि पटक पटक मन्त्रालयमा जानकारी गराउँदा पनि माग सम्बोधन नभएपछि भौतिक रुपमा उपस्थित हुनुभएको हो । एक सातादेखि काठमाडौंमै रहनुभएका उहाँ प्रमुख प्रशासकीय अधिकृत लिएर मात्रै फर्कने मनस्थितीमा हुनुहुन्छ । पालिकाको काममा कहिले फर्कने टूंगो नभएपछि उहाँले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई टेलिफोन गरेरै आफू प्रमुख लिएर मात्र फर्कने भएकाले नागरिकलाई सेवाबाट बञ्चित नर्गन निर्देशन दिनु भएको छ ।

यस्तै मुद्धा लिएर मन्त्रालय धाइरहनुभएको छ बैतडीको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावल । उहाँको पनि उस्तै माग छ दुई महिनादेखि रिक्त प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाईदिनु पर्यो ।

पोमु र रावलजस्तै दर्जनौ पालिकाका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत पठाईदिनुपर्ने माग राख्दै मन्त्रालय धाइरहेका छन् । मन्त्रालयका अनुसार अहिले देशभरका १५० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन छन् । अब छिट्टै सबै तहमा प्रमुख पठाउने आश्वासन मन्त्रालयको छ ।

रिक्त रहेकामध्ये केहीमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि कर्मचारीहरु जान मानेका छैनन् भने १६ वटा पालिकाका अध्यक्षले आफूसँग सल्लाह नै नगरी प्रमुख पठाएको भन्दै हाजिर गर्नै नदिई फिर्ता पठाईदिए । तीन तहको सरकारमध्ये सबैभन्दा बलियो भनिएको स्थानीय सरकारका जनप्रतिनिधिहरु कर्मचारी माग्दै सिंहदरबार धाउनुपर्ने बाध्यत्मक अवस्थाले संघीयता चाहिन्न भन्नेहरुलाई बल पुग्ने भएकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

गाउँपालिकामा नेपाल सरकारका शाखा अधिकृत, नगरपालिकामा उपसचिव र उपमहानगरपालिका र नगरपालिकामा सहसचिव प्रमुख प्रशासकीय अधिृकत रहने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *