Main News

लक्ष्मी महतो कोइरीलाइ‌ राजनीतिक संरक्षण दिँदा संसदमा चर्काचर्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १५ गते २०:५२
लक्ष्मी महतो कोइरीलाइ‌ राजनीतिक संरक्षण दिँदा संसदमा चर्काचर्की  (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० काठमाडौं । हत्या आरोपी प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी न निलम्बनमा पर्नुभएको छ, न संसद बैठकमा हाजिर हुनुभएको छ ।

सभामुख देवराज घिमिरेले राजनीतिक संरक्षण दिँदा कोइरीको पद जोगिइरहेको छ । तर संसदमा भने उहाँले पाइरहेको संरक्षण र सभामुखले देखाइरहेको हमदर्दीको आलोचना भइरहेको छ ।

संविधानको धारा ८९ को खण्ड (घ) कुनै संघीय संसदको सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा, उक्त सदस्यको स्थान रिक्त रहने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम ९२० मा भनिएको छ, ‘कुनै सदस्य सदस्य सभाको दशवटा भन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनुपर्नेछ । अग्रिम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तीन दिनभित्र सूचना दिनुपर्नेछ ।’

शुक्रबार प्रतिनिधिसभाको २८औँ बैठकका लागि संसद सचिवालयले तयार गरेको दैनिक कार्यसूचीमा एउटा हाँस्यास्पद प्रस्ताव राखियो । प्रस्तावमा भनिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्नुहुने ।’

यो प्रस्ताव यसअर्थमा हाँस्यास्पद रह्यो कि, संविधानले लगातार दशवटा बैठकमा अनुपस्थित भएमा स्थान रिक्त हुने र प्रतिनिधिसभा नियमावलीमा १० भन्दा कम बैठकमा उपस्थित भएमा सूचना दिने भनिएको छ, जबकी त्यसभन्दा बढी बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः संविधानअनुसार रिक्त हुन्छ ।
तर प्रतिनिधिसभाका २८ वटा बैठकमा उपस्थित नभएका हत्या आरोपी लक्ष्मी महतो कोइरीको पद भने सभामुख देवराज घिमिरेले सुरक्षित राखिदिनुभएको छ । यसबारे नेपाली कांग्रेसले सुरुदेखि कुरा उठाउँदै आएको छ र शुक्रबारको बैठकमा पनि कांग्रेसले सभामुखको ध्यानाकर्षण गरायो ।

सशस्त्र प्रहरी जवान थमन बिकको हत्या अभियोगमा महतो फरार रहेको जानकारी प्रहरीले चार महिनाअघि नै संसद सचिवालयलाई पठाइसकेको छ ।
प्रहरी प्रधान कार्यालयले पुस ७ गते नै एमाले सांसद कोइरी हत्या अभियोगमा कारागार चलान हुनुपर्नेमा फरार रहेको उल्लेख गरेको छ । तर सभामुखले भने संविधानमा तोकिएको १० बैठकमा लगातार अनुपस्थित हुँदा स्वतः पद रिक्त रहने व्यवस्थालाई नजरअन्दाज गर्दै आफूलाई प्रतिनिधिसभा नियमावलीको नियम २४८ बमोजिमको जानकारी नआएको जिकिर गर्नुहुन्छ । जबकी यो नियममा पक्राउ परिसकेको जानकारी गराउने व्यवस्था छ ।

मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका कारण निलम्बित छन् । नागरिकता प्रकरणबाट पद खारेज भएपछि रवि लामिछाने निलम्बनमा परिवरी पुनः निर्वाचित भएर शुक्रबार नै संसद प्रवेश गर्नुभएको छ । तर एमाले सांसद कोइरीले सभामुखबाटै राजनीतिक संरक्षण पाइरहनु भएको छ । सभामुखले किन दिइरहनु भएको होला संरक्षण रु

प्रतिनिधिसभाको सभामुख निर्वाचित भएसँगै कुनै पनि सांसद पार्टी विशेषको रहँदैन, पार्टीका पदहरुबाट राजीनामा दिनुपर्छ । त्यसैअनुसार व्यवहारतः राजनीतिक पक्षधरता त्याग्नुपर्छ, तठस्थ हुनुपर्छ । तर समामुखले एमाले सांसदको मात्र होइन अपराधीको संरक्षण गरिरहेको यो प्रकरणले देखाउँछ । यसले सभामुखको निष्पक्ष जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *