Main News

काम गर्दाको ज्याला नपाएपछि पुल बन्द

२०८० वैशाख १० गते १६:५५
काम गर्दाको ज्याला नपाएपछि पुल बन्द

१० वैशाख २०८० खलंगा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् ।

गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जीतबहादुर बमले बताउनुभयो । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताउनुभयो ।

पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनुभयो । पटक–पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरुको भनाइ छ ।

झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गर्नुभयो ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन । निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको दुहुँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

गाउँपालिका–१, २ र ५ का स्थानीयले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिइ ठेकेदार कम्पनी सम्र्पकबिहीन भएको स्थानीय नरेन्द्र जोशीले बताउनुभयो ।

यसअघि स्थानीयले पटक–पटक आफूहरुले काम गरेको ज्याला पाउनुपर्ने भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीय मजदुर आक्रोसित भएका छन् । निर्माण कम्पनीले मजदुरसँगै पसल धनी र ट्र्याक्टर व्यवसायीकोसमेत पैसा दिएको छैन । स्थानीय श्रमिक पसल धनी र ट्र्याक्टर व्यवसायीले बेलाबेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलमा अनुरोध गर्दा पनि कुनै निकास नआएपछि पुल बन्द गर्न बाध्य भएको नरेन्द्र जोशीले बताउनुभयो ।

गाउँपालिकाले पटकपटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनी सम्पर्कमा नआएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । पहिलेदेखि नै हामीले ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोजेका हाैँ उहाँहरु सम्पर्कमा आउनुभएन उहाँले भन्नुभयो ।

पीडितले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

श्रमिकले श्रम गरेबापतको पाउनुपर्ने रकम पाउनुपर्ने र स्थानीय श्रमिकले पनि सार्वजनिक पुल बन्द गर्न नहुने उहाँको भनाइ छ । “ठेकेदारलाई गाउँपालिका र प्रशासनले सम्पर्क गर्न खोजे पनि सम्पर्क भएको छैन”, उहाँले भन्नुभयो । पुल निर्माण भइसकेको भए पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरणसमेत नगरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले जानकारी दिनुभयो ।

“पुल गाउँपालिकालाई हस्तान्तरणसमेत भएको छैन, पुल सञ्चालनको अनुमति नै छैन, त्यहाँ आवतजावत नगर्न हामीले पनि आग्रह गरेका छाैँ, पुलको लोड टेस्टसमेत नभएकाले रहेछ”, अधिकारी जोशीले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *