Main News

भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

हिमालय टिभी
२०८० वैशाख ९ गते १३:०७
भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

९ वैशाख २०८० काठमाडौं । भोलि हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

चितवन–२, बारा–२ र तनहुँ–१ का तीनवटै निर्वाचन क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी पुगिसकेका छन् । आवश्यक चुनावी सामग्री पनि पुगिसकेको आयोगले जनाएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षमा निर्देशन दिएको छ। उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

उपचुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पुर्‍याएमा त्यस्ता कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ ।

चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गएर चुनावलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ ।

कोभिड–नाइन्टिन लगायतको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, गराउन पनि आयोगले आग्रह गरेको छ ।

त्यस्तै हावाहुरी र वर्षाका कारण मतदानको काम प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि निर्देशन दिइएको छ । उपचुनाव हुने क्षेत्रमा भोलि सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *