Main News

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हिमालय टिभी
२०८० वैशाख ९ गते १३:०४
गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

९ वैशाख २०८० कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको हो । गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री अधिकारीले भने आफूले विश्वासको मत नपाउने भए पनि संविधानको रक्षाका लागि संसद फेस गर्ने र डराएर नभाग्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *