वायुसेवा निगम : डेढ सय कर्मचारीलाई थाहै छैन आफ्नो जिम्मेवारी (भिडियो रिपोर्टसहित)
८ वैशाख २०८० काठमाडौं । नेपाल वायुसेवा निगमको आर्थिक अवस्था नाजुक छ । जहाज उडान नभएका कारण आम्दानी कम भएर मात्र निगमको आर्थिक अवस्था कमजोर भएको होइन ।
मन्त्रीपिच्छे तजबिजीमा कर्मचारी नियुक्ति गर्दा अनिवार्य दायित्वको भारले पनि निगम थला परेको छ। ६ वटा जहाज उडाउन निगममा करिब १४ सय कर्मचारी छन् । त्यसमध्ये डेढ सयभन्दा बढी त कुन विभागमा के काम गर्छन् भन्ने अत्तोपत्तो नै छैन।
राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगममा अहिले सञ्चालमा रहेका जहाज संख्या ६ ।
निगमको ऋण ४८ अर्ब रुपैयाँ
कर्मचारी १३ सय ६७ जना
करारमा २ सय ७४ जना
निगममा करिब डेढ सय कस्ता कर्मचारी छन् जसको काम के हो भन्ने समेत थाहा छैन। राजनीतिक दबावमा नियुत्त उनीहरु आउछन्, हाजिर गर्छन र जान्छन् । निगम आफैमा अनावश्यक मानिसहरुको भर्तीकेन्द्र बन्दा आर्थिक भार थप बढ्दै गएको छ।
यति थोरै जहाज उडाउन निगमलाई यति धेरै कर्मचारी किन रु यो प्रश्न पटक पटक उठ्ने गरेको छ। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको जनशक्तिको अनुपातमा यो संख्या धेरै भएको भन्दै कटौती गर्न विभिन्न कार्यदलले सुझाव दिए पनि यसमा कसैको चासो छैन ।
निगमममा सबैभन्दा तल्लो तहका सहयोगीले मासिक २४ हजार रुपैयाँ तलब लिन्छन् । पाइलकहरुले डेढ लाखदेखि ३ लाख ५० हजारसम्म तलब बुझ्छन् । पाइलट र को–पाइलटको संख्या मात्रै ३७ छ । अध्यक्षले मासिक ७२ हजार तलब बुझ्छन् । महाप्रबन्धले डेढ लाख तलब भत्ता बुझ्छन् ।
१६ जना त निर्देशक मात्रै छन् । उनीहरुको तलब प्रतिव्यक्ति ५६ हजार रुपैयाँ छ । तर अन्य सेवासुविधा गरेर १ लाखभन्दा बढी बुझ्छन् । निगममा रहेका सबै कर्मचारीको तलब सुविधामा मात्रै मासिक न्यूनतम ७ करोड रुपैयाँ खर्च हुन्छ । अनावश्यक कर्मचारीको भर्तीकेन्द्र बनाउँदा निगमको अनिवार्य दायित्व बढ्दै गएको छ।
प्रतिक्रिया