Main News

उपनिर्वाचनका लागि मौन अवधि शुरु

हिमालय टिभी
२०८० वैशाख ८ गते १३:१७
उपनिर्वाचनका लागि मौन अवधि शुरु

८ वैशाख २०८० काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि शुरु भएको छ ।

मतदान हुनु ४८ घण्टा अघि राति १२ बजेपछि मौन अवधि शुरु भएको हो । मौन अवधिमा कुनै पनि प्रकारले मत माग्न तथा चुनावको प्रचारप्रसार गर्न निषेध हुन्छ ।

उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुनुभन्दा ४८ घण्टा अघि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मका लागि प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै प्रकारका प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न पनि निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न र नगराउन आयोगले सचेत गराएको छ ।

मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पर्सी आइतबार चितवन–२, बारा–२ र तनहुँ१ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *