Main News

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

२०८० वैशाख ७ गते १३:०७
म्याग्दीको घतानमा भेटियो  दुर्लभ ‘किङ कोब्रा’

७ वैशाख २०८० गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ ।

बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताउनुभयो ।

विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टी गर्नुभएको छ । उहाँका अनुसार २०७६ जेठमा पनि घतानकै कोशीपानीको जङ्गलमा उहाँले सोही प्रकारको कोब्रा फेला पार्नुभएको थियो ।

नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताउनुभयो । उहाँका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ । नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।

यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने अध्येता चोखालको भनाइ छ । यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको उहाँले बताउनुभयो ।

यो कोब्रालाई नचलाउने ,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने अध्येता चोखालको भनाइ छ । म्याग्दीमा २०७६ मा भेटिएको सो नाग ‘किङ कोब्रा’ अर्थात् नै भएको किङ कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गर्नुभएको थियो । अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताउनुभयो । उहाँका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको स्ङ्ख्या अत्यन्त न्यून रहेको छ ।

यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उहाँको भनाइ छ । यसलाई विश्व संरक्षण सङ्घको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको जनाइएको छ ।

त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । उहाँका अनुसार यो सर्प विश्वव्यापिरुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *