Main News

संसद जीवन्त बनाउन सांसदहरुकाे प्रयास (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते २०:५४
संसद जीवन्त बनाउन सांसदहरुकाे प्रयास (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको प्रभावकारीतालाई लिएर विगतदेखि नै प्रश्न उठ्दै आएका छन् ।

निर्वाचनदेखि संसद बैठक सञ्चालन र सांसदको सेवा सुविधामा ठूलो धनराशी खर्च हुँदै आएपनि प्रतिनिधिसभा सदस्यकै उदासिनताका कारण संसद प्रभावकारी बन्न नसकेको आम गुनासो सुनिन्थ्यो ।

अहिलेको नयाँ कार्यकालको प्रतिनिधिसभा प्रभावकारी नभएरै पुरै कार्यकाल खेर जाने हो कि भन्ने चिन्ता बांकी रहँदा रहँदै केही प्रतिनिधिसभा सदस्यले भने संसदलाई जीवन्त बनाउने हरसम्भव प्रयास गरेको देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु हुन्छ, ज्ञानेन्द्र शाही । पहिलोपटक संसदमा जनप्रतिनिधिको रुपमा प्रवेश गर्नु भएका शाही नियमित रुपमा बैठकमा उपस्थित हुँदै आउनु भएको छ । बैठकमा नियमित उपस्थित हुने मात्रै नभएर शाहीले जनताका मुद्दा पनि उसै गरी जोडदार रुपमा उठाउँदै आउनु भएको छ ।

नेपाल मजदुर किसान पार्टीकातर्फबाट प्रेम सुवाल पनि प्रतिनिधिसभा सदस्यमा भक्तपुरबाट निर्वाचित हुनुभयो । यस अघि पनि प्रतिनिधिसभा बैठकमा नियमित उपस्थिति हुँदै आउनु भएका सुवालले पनि जनताको आवाज उठाउने अब्बल सांसदको छवी बनाउनु भएको छ । उहाँले आफूले उठाउने बिषय निर्धक्कसंग संसद बैठकमा राख्दै आउनु भएको छ । तर समय कम भएको उहाँको गुनासो छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्य बन्नु भएकी सुमना श्रेष्ठ पनि संसदमा नियमित आवाज उठाउने सदस्यको छवी बनाइसक्नु भएको छ । पर्याप्त अध्ययन गरेर नियमित संसद बैठकमा उपस्थित हुने गरेको उहाँले सार्वजनिक रुपमा बताउँदै आउनु भएको छ ।

नेकपा एमालेका सचेतक समेत रहनु भएका महेश बर्तौला पनि संसद बैंठकमा नियमित उपस्थित हुने र जनताका आवाज मुखरित गर्ने सांसद मध्ये एक हुनु हुन्छ । आफूहरुले संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि सरकारले नसुने सम्म त्यसको अर्थ नहुने बर्तौलाको भनाइ छ ।

नयाँ अनुहार मात्रै नभएर कतिपय पुराना अनुहार पनि छन् जस्ले संसदमा आफ्ना आवाज बुलन्द रुपमा उठाउने गर्छन् । जस्तो नेपाली कांग्रेसकातर्फबाट संसदमा निर्वाचित रामहरि खतिवडाको नाम पनि अग्रपंत्तिमै आउँछ ।

त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्त पनि संसदमा नियमित उपस्थित हुने र जनताका समस्याको उठान गरेर सरकारसँग जवाफ माग गर्नेमा अगाडी नै हुनु हुन्छ । नेपाली कांग्रेसका प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा पनि संसद बैठकमा आवाज उठाउनेमा अग्रपंत्तिमै आउनुहुन्छ ।

आफूले जनताको आवाज उठाएपनि सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको प्रतिधिसभा सदस्यहरुको भनाइ छ । सरकारका मन्त्री भने प्रतिनिधिसभा सदस्यले उठाएका हरेक मुद्दाको जानकारी आफूहरु समक्ष आउने र क्रमिक रुपमा समाधान हुँदै जाने दाबी गर्छन्

प्रतिनिधिसभा सदस्यले जनताका समस्याको उजागर गर्ने र सरकारले समाधान गर्दै जाने हो भने मात्रै संसदको महत्व र गरिमा रहन्छ । नभए काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भन्ने नेपाली उखान चरितार्थ हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *