डढेलोले बढायो प्रदुषण (भिडियो रिपोर्टसहित)
४ वैशाख २०८० काठमाडौं । संघीय राजधानी काठमाडौंसहित देशभर वायु प्रदुषणले जनजीवनसंगै स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । केही दिनदेखि देशका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीका घटनाका कारण वायु प्रदुषणको मात्रा बढेको विज्ञहरुले जानकारी दिएका छन् ।
तस्वीर नासाको स्टेलाइटले खिंचेको नेपालसहित दक्षिण एसियाली देशहरुमा लागेको डढेलोको हो। रातो संकेत डढेलेको र खैरो डढेलोपछि निस्किएको धुँवाको हो। पछिल्लो २४ घण्टामा देशका ५८ जिल्लाका ६ सय १२ भन्दा बढी स्थानमा सानोठूलो डढेलो लागेको छ।
देशभर फैलिएको डढेलोका कारण धुँवाले गर्दा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। अहिले काठमाडौं उपत्यका ग्यासको च्याम्बर भित्र गुम्सिएको विज्ञ बताउँछन्। वायु प्रदुषण मापन गर्ने आईक्यू एअरका अनुसार शुक्रबार र शनिबार काठमाडौं विश्वकै प्रदुषित सहरको सूचिमा एक नम्बरमा परेको थियो।
सोमबारसम्म आइपुग्दा प्रदुषणको मात्रा केही घटेर काठमाडौं उपत्यका प्रदुषित सहरको तेस्रो नम्बरमा झरेको छ। सवारी साधन, कलकारखाना र इट्टा भट्टबाट निस्कने प्रदुषण सहायक कारण रहेपनि अहिलेको वायु प्रदुषणको मुख्य कारण आगलागीका घटना भएको विज्ञको भनाइ छ ।
मानवीय लापरबाही र त्रुटीका कारण नेपालका वनजंगलमा डढेलो लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको छ।
डढेलोबाट ठूलो जनधनको क्षति हुन्छ भने प्रदुषणका कारण मानवस्वास्थ्यमा पनि गम्भीर असर पर्छ। स्वासप्रश्वासमा तत्काल असर गर्ने वायु प्रदुषणले दीर्घकालीन रुपमा मुटुरोग र मस्तिष्कघातको समस्या समेत निम्त्याउछ। अधिकांश डढेलो मानवीय कारणले लाग्ने भएकाले जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा विज्ञको सुझाव छ।
प्रतिक्रिया