Main News

बढ्यो कोरोना संक्रमणको जोखिम, समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव

हिमालय टिभी
२०८० वैशाख ३ गते १३:२४
बढ्यो कोरोना संक्रमणको जोखिम, समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव

३ वैशाख २०८० काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या बढेको हो । केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमित बढिरहेका छन् ।

यसबीचमा केही नागरिकको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

उहाँले कोरोना भाइरस बढिरहनुको कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्ट फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताउनु भयो । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो ।

उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताउनु भयो । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको प्रयोग अनिवार्य र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । उहाँले बेलैमा स्वास्थ्य मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *