Main News

कांग्रेस बागमती प्रदेशको किचलो सतहमा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २ गते २१:१२
कांग्रेस बागमती प्रदेशको किचलो सतहमा (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० मकवानपुर । कांग्रेस बागमती प्रदेशको किचलो सतहमा आएको छ । मंसिर ४ को चुनावमा देखिएको विवाद माओवादी नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी भएपछि असहमति सतहमा आएको हो।

मुख्यमन्त्रीको दावी गरिरहेका व्यक्ति सुटुक्कै मन्त्री बनेपछि कांग्रेसका असन्तुष्ट पक्षकै कारण बागमती प्रदेशको सरकार पनि विस्तार हुन सकेको छैन ।

बागमती प्रदेशको सबैभन्दा ठूलो दल हो, नेपाली कांग्रेस। यहाँ कांग्रेसको कुल ३७ सिट छ । २७ सिटसहित एमाले दोस्रो र २१ सिटसहित माओवादी केन्द्र तेस्रो दल हो । मुख्यमन्त्री हातबाट गुमाएको कांग्रेस अहिले तेस्रो दलले नेतृत्व गरेको सरकारमा सहभागी छ । तर, कांग्रेसकै किचलोका कारण मन्त्रिपरिषद् विस्तार भएको छैन । प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँ समुहबीच टसल छ ।

दुबै संस्थापन पक्षका नेता हुन् । संसदीय दलको नेता बन्नेबेलादेखि नै दुईनेताबीच जुँगाको लडाई सुरु भएको हो । संसदीय दलको नेता बन्ने बानियाँको चाहनामा लामा हाबी हुनुभयो । आमनिर्वाचनमा बानियाँले कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई हराउन भूमिका खेलेको आरोप लाग्यो । केन्द्रीय समितिमा उजुरी समेत पर्यो ।

राष्ट्रपतिको निर्वाचनसँगै सत्ता फेरबदल भएपछि कांग्रेसले सुरुमा गुमेको हैसियत फर्काउन निकै कसरत ग¥यो । ठूलो दलको हैसियतमा मुख्यमन्त्री नै आफुले लिएर अगाडि जाने दाउँमा रहेको कांग्रेस आफ्नै पार्टी भित्रको विवादका कारण सोचेजसरी अघि बढ्न सकेन ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल कांग्रेस सभापति बानियाँसंग नजिक भएकाले बानियाँको नेतृत्वमा सरकारमा जान निकै जोडबल भयो । तर, ठुलो दललाई नै बेवास्ता गरेर अघि बढ्न खोजे जम्मकट्टेललाई विस्वासको मत दिन नसक्ने भन्दै कांग्रेसको एक पक्षले चेतावनी नै दियो । कांग्रेस भित्रकै विवादकाबीच चैत २६ मा सुटुक्क बहादुर सिंह लामाको नेतृत्वमा २ मन्त्रीसहित कांग्रेस सरकारमा गयो ।

अहिले यही विषयले उग्र रूप लिएको छ । ठूलो दलको हैसियतले ६ वटा मन्त्रालय दावी गरिरहेको कांग्रेसले अहिले कसलाई कुन मन्त्री बनाउने र कसको वरीयता झार्ने भन्ने खेलमा कांग्रेस देखिएको छ ।

आर्थिक मामिला लामाले लिएपछि बानियाँ समुह मुरमुरिएको छ भने लामासमुह अन्य २ महत्वपूर्ण मन्त्रालय पनि बानियाँको भागमा नपर्ने खेलमा लागेको छ । कांग्रेसभित्रको जुँगाको लँडाईले कांग्रेस कमजोर त बनेको छ नै बागमती सरकार विस्तार र अन्यसमिति गठनप्रक्रियामा समेत यसले प्रभाव पारिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *