Main News

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

हिमालय टिभी
२०८० वैशाख २ गते १३:३४
मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

२ वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद्लाई पूर्णता दिएर आफ्नो भारत भ्रमण तय गर्न चाहनुहुन्छ । संस्थापन पक्ष र इतरबीच सहमति नजुट्दा कांग्रेसले आफ्नो भागमा परेका थप ४ मन्त्रालयमा मन्त्री पठाउनसकेको छैन । ८ मन्त्रालय भाग पाएको कांग्रेसबाट ४ जना मात्र मन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भने कम्तिमा परराष्ट्रमन्त्री नियुक्त गर्न चाहनुहुन्छ । कांग्रेसबाट परराष्ट्रमन्त्रीका रुपमा एनपी साउदको नाम तय भएको नेताहरुले बताएका छन् । त्यसबाहेक सत्ता गठबन्धनका शीर्ष नेताले वैशाख १० गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल गरेका छन् ।

यस्तै प्रतिनिधिसभामा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता आयोग सम्बन्धी विधेयक पारित गर्नेबारे पनि शीर्ष छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र एकीकृत समाजवादीका महासचिव धनश्याम भुषाल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *