Main News

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

२०८० वैशाख १ गते १७:५९
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

१ वैशाख २०८० पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेश सभा अधिवेशन आह्वान भएको हो । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र संसदमा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गर्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिनु भएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता छ । चैत ९ गते सरकार अल्पमतमा परेपछि १० गते पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रप्रसाद पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । ६० सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन बहुमत पुग्छ ।

माओवादीबाट कृष्ण धिताल सभामुख रहेकाले कांग्रेस–माओवादी मिल्दा सरकार बनाउन पुग्ने ३४ जना हुन्छन् । अहिले एमालेका २७ र राप्रपाका २ सदस्यसहित अधिकारी नेतृत्वको अल्पमतको सरकार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *