Main News

ढाकाकुमार र दुर्गा प्रसाईंलाई दक्षिणकालीमा ‘बली’को चेतावनी दिने लामिछाने को हुन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २९ गते २१:२३
ढाकाकुमार र दुर्गा प्रसाईंलाई दक्षिणकालीमा ‘बली’को चेतावनी दिने लामिछाने को हुन् ? (भिडियो रिपोर्टसहित)

२९ चैत २०७९ काठमाडौं । एकपछि अर्को विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको अभिव्यक्ति पनि विवाद रहित बनेको छैन ।

सभापति रवि लामिछानेले अडियो प्रकरणमा दोषिलाई ७२ घण्टाभित्र कारबाही गर्न नसके गढीमाइमा आफु बली चढ्न तयार रहेको बताएसँगै पार्टीका अन्य नेता थप भड्किलो भाषण दिन थालेका छन् ।

रास्वपाका बागमती प्रदेश सभापति अच्युतम लामिछानेले त सांसद ढाकाकुमार श्रेष्ठ र व्यावसायी दुर्गा प्रसाईंलाई दक्षिणकालिमा जनताले बली चढाउनुपर्ने विवादास्पद अभिब्यक्ति नै दिनुभयो ।

७२ घण्टाभित्र सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न नसके मलाई गढीमाइमा बलि चढाउनुहोला भन्दै सभापति रवि लामिछानेले उत्तेजक अभिव्यक्ति दिएसँगै पार्टीका नेता कार्यकर्ता थप असन्तुलित भाषणबाजीमा उत्रिए ।

रास्वपाका बागमती प्रदेश सभापति अच्युतम लामिछाने पनि के कम । सभापति लामिछानेको सिको त गर्नै पर्यो । आफ्ना सभापतिको राजनीति संकटमा परेका बेला प्रदेश सभापति लामिछाने अझै दुई कदम बढ्नुभयो । पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंमाथि विरोध गरेर मात्रै कहाँ हुन्छ त । उनीहरुलाई बली चढाउनु पर्यो नी । त्यो पनि दक्षिणकालीमा ।

भ्रष्टाचारविरोधी अभिव्यक्ति र जनतामा राजनीतिप्रतिको निराशालाई क्यास गर्दै मंसिरको चुनावमा राम्रै मत आर्जन गरेको रास्वपा पुरानो नेपाली उखान अभागीलाई खाने बेलामा रिस उठ्छ को शैलीमा छ । पार्टीमा हरेकसँग हरेक नेता शशंकित छन् र सबै नेता सभापति रविको दाहिना हुन यसैगरी बोलिरहन्छन् । लाग्छ उनीहरु नेपालको संविधान, ऐन, नियमभन्दा धेरै माथि छन् । र तर्क गर्छन् मानव बलीको ।

असार ७ गते रवि लामिछाने नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मंसिर ४ को निर्वाचनमा राम्रै हैसियत बनायो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २० सिटसहित संसदको चौथो ठूलो दल बन्यो । सरकारमा पनि गयो । तर शुरुवातदेखि नै पार्टीका नेता विभिन्न विवादमा फसे ।

अहिले मन्त्री बन्नका लागि दुई करोड बार्गेनिङको अडियो सार्वजनिक भएसँगै नियत छताछुल्ल भएको छ । फागुन ८ गते बागमती सभापति भएका लामिछानेको उक्त भिडियो विभिन्न सार्वजनिक सञ्चार माध्यममा सार्वजनिक भएसँगै हामीले किन यस्तो अभिव्यक्ति दिनुभयो भनेर सोधेका थियौं । त्यो पनि सुनौं ।

घुष लिने र दिने दुबै दोषी हुन् । कारबाहीको दायरामा आउनु पर्छ । तर पार्टीको बचाउका लागि लामिछाने दाजुभाइका पछिल्ला अभिब्यक्ति भने लोकतन्त्रसँगै आएको गणतान्त्रिक नेपालको संविधान विपरित भएन र । यस्तो अभिब्यक्तिले त दण्डहिनता बढाउला नी, हैन र बागमती अध्यक्ष लामिछानेज्यु ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *