विवादकै वरिपरि रवि लामिछाने (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ काठमाडौं । सञ्चारकर्मी हुँदा नै विवादको पर्याय रहेका रवि लामिछानेलाई राजनीतिमा आएपछि पनि विवादले छोडेको छैन। बरु, झन गाँज्दै लगेको छ। आफ्नै नागरिकता र राहदानी विवादपछि लामिछानलाई सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले झनै रक्षात्मक बनाएको छ।
श्रेष्ठले मन्त्री बन्न पार्टीको कोर टीमलाई बुझाउन भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियोबारे लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले छानविन गरिरहेको छ। र, छानविनको सुरुवातमा सोधिएको स्पष्टीकरणको जवाफ सांसद श्रेष्ठले दिएका छन्।
आइतबार अडियो प्रकरण भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद र पार्टी सदस्यका रुपमा काम गर्न रोक लगायो। र, अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र छानविन गर्न निर्देशन दियो। सोही दिन समितिले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्यो। जसको जवाफ उनले २४ घण्टा बितेपछि हिजो (सोमबार) राति दिए। एक अनुच्छेदको जवाफमा मुख्य दुई कुरा छः
पहिलोः सार्वजनिक भएको आवाज आफ्नो होइन भन्ने दाबी छैन। सम्पादन गरिएको जिकीर।
दोस्रोः जो सुकैले गर्ने छानविनमा सहयोग गर्ने प्रतिवद्धता छ। पार्टीले लिने निणर्य स्वीकार्ने उल्लेख।
स्पष्टीकरणको जवाफ दिनुअघि श्रेष्ठले समितिलाई सांसद र पार्टीबाटै राजीनामा दिने संकेत गरेका थिए। तर, कानून व्यवसायीसँगको छलफल र पार्टी पदाधिकारीबीच नै कार्बाही गर्नेबारे मत बाझिएपछि श्रेष्ठ तत्काल राजीनामा नदिने निणर्यमा पुगेको बताइन्छ।
श्रेष्ठको जवाफ पाएपछि आज ९मंगलबार० बसेको अनुशासन तथा आचरण समितिको बैठकले निर्धारित समयमभित्रै प्रारम्भिक प्रतिवेदन बुझाउने निष्कर्ष निकालेको छ। भोलि (बुधबार)सम्म अडियोको प्राविधिक परीक्षण र वार्ताकार दुबै जनासँग विस्तृत सोधपुछ संभव नभएको भन्दै समितिले प्रारम्भिक प्रतिवेदन मात्रै दिन सकिने जनाएको हो। कार्यावधिअनुसार समितिले भोलि ९बुधवार० अपरान्हसम्म प्रतिवेदन बुझाउनु पर्ने छ।
यता, अनुशासन तथा आचरण समितिले प्रारम्भिक निष्कर्ष दिनुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीले भने श्रेष्ठले गल्ती गरेको निष्कर्षसहित संसद बैठकमै माफी मागिसकेको छ। हिजो ९सोमबार०को संसद बैठकमा प्रमुख सचेतक सन्तोष परियारले घटनाबारे जानकारी गराउँदै पार्टीका तर्फबाट यसरी माफी मागेका थिए।
श्रेष्ठले हिजो (सोमबार) स्पष्टीकरणको जवाफ बुझाउनु अघि नै उनीसँग सम्बन्धित दोस्रो अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत् श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन्।
सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन वा प्रयास गरेको विषय भ्रष्टाचारजन्य कसुरमा पर्ने भन्दै सञ्चारमाध्यममा आएका खबरलाई नै सार्वजनिक उजुरी मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस प्रकरणको छानविन थालेको छ। हिजो (सोमबार) भएको छलफलमा अख्तियारका पदाधिकारीले मिहिनरुपमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
प्रतिक्रिया