राजनीति

ओलीको हमला: प्रचण्ड-माधवलाई कांग्रेसले गालामा झापड हान्छ (भिडियो रिपोर्टसहित)

२०७९ साउन ४ गते २१:१९
ओलीको हमला: प्रचण्ड-माधवलाई कांग्रेसले गालामा झापड हान्छ (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । आफ्नै पार्टीका नेता हुन् या विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निशानामा नपर्ने कोही छैनन् । एमाले बागमती प्रदेशले आज गरेको कार्यक्रममा पनि ओलीले वाम एकताको भजन गाउने नेतादेखि आफ्नै पार्टीका कार्यकर्तालाई समेत आक्रमण गर्न भ्याउनुभयो ।

सार्वजनिक भाषणहरूमा उखान, टुक्का र चोटिला शब्द वाणमार्फत् विपक्षीमाथि निशाना साँध्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कसैले भ्याउँदैन । बुधबार एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पनि अध्यक्ष ओलीले आफ्ना पूर्वसहकर्मीलाई वामपन्थी भए एमालेमा फर्कन आग्रह गर्दै कांग्रेसले झापड हान्ने अवस्था आउनेसम्मको चेतावनी दिन भ्याउनुभयो ।

ओली यतिमा मात्रै रोकिनु भएन । एमाले विभाजन गराएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रहार गर्नुभयो । ओलीले स्थानीय निर्वाचनमा पार्टीले चित्तबुझ्दो नतिजा निकाल्न नसकेको स्वीकार गर्दै चुनावमा आफ्नै कन्तविजोक हुनेले एमाले हारेको भनेर प्रचार गरिरहेको टिप्पणी गर्नुभयो ।

ओलीले कार्यक्रममा विपक्षीलाई मात्र हैन आफ्नै कार्यकर्तालाई पनि प्रहार गर्न भ्याउनुभयो । ‘टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछौं’ भन्ने नारा तय भएको तर, ‘पाए जित्छु, नपाए हराउँछु’ भन्दै कार्यकर्ता दगुरेको बताउनुभयो ।

यतिभन्दा ताली बजाएका कार्यकर्ताको गडगडाहट ओलीलाई मन परेन । उहाँले थोरै बजाउनुभयो भन्ने बित्तिक्कै फेरि तालि बज्यो । त्यो पनि चित्त नबुझेपछि ओलीले ‘हामी सबै प्रतिबद्ध छौं नि होइन ? हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ भनेपछि एक्कासी चर्को ताली बज्यो ।

हाँसो मजाक र उखान टुक्कालाई भाषणमा रोचक र घोचक ढंगले प्रस्तुत गर्ने ओली शैलीलाई कार्यकर्ताले भाषणको गहिराइ र मनोरञ्जनको समायोजनका रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्