राजनीति

ओली-प्रचण्डलाई मिलाउन आउँदैछन् चीनका प्रभावशाली कम्युनिष्ट नेता चाओ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते २१:२८
ओली-प्रचण्डलाई मिलाउन आउँदैछन् चीनका प्रभावशाली कम्युनिष्ट नेता चाओ? (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । नेपालमा वाम एकताको चर्चा चलिरहेका बेला चाओको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । नेपालमा वाम एकताको चर्चा चलिरहेका बेला चाओको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओको नेपाल भ्रमणलाई मुख्यतः वाम एकता वा वाम गठबन्धनजस्ता विषयसँग जोडेर हेरिएको छ । आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनाउने गरी नेपालका कम्युनिष्ट नेताहरु अनौपचारिक छलफलमा जुटिरहेका बेला लिउको भ्रमणलाई वाम गठबन्धन गराउने चिनियाँ कसरतकै रुपमा हेरिएको हो ।

केही दिनअघि विदेश विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउ लगायतका नेताले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको गरेका थिए ।

यसअघि एमाले र माओवादीबीच चुनावी गठबन्धन र पछि पार्टी एकीकरणमै महत्वपूर्ण भूमिका निर्वाह गरेको भनिएको चीनले पार्टीभित्र विवाद हुँदासमेत माइक्रो म्यानेजमेन्टको प्रयास गरेको थियो ।

चिनियाँ राजदूत होउ यान्छीले लगातार नेपालका कम्युनिष्ट पार्टीको घरदैलो नै गरे पनि नेकपा अन्ततः विभिन्न कारणले एकीकृत पार्टीका रुपमा रहन सकेन, तर चिनियाँ चासो भने कम भएको छैन । तर, एमाले नेताहरू भने नेपालका कम्युनिष्टबीच चीनले माइक्रो म्यानेजमेन्ट गर्न नसक्ने र कोशिस गरेपनि एमाले र माओवादी केन्द्रलाई जोड्न नसक्ने दाबी गर्छन् ।

विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग संस्थागत रुपमा प्रशिक्षण लिएका कम्युनिष्ट पार्टीहरु सहज रुपमा चिनियाँ रुचिबारे बोल्न नसके पनि कतै न कतै चिनियाँ चासो र प्रभावका विषयमा भने नतमस्तक देखिन्छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेल चीनले नेपालका कम्युनिष्ट पार्टीहरुमाथि सदासयता राख्नु स्वभाविक मान्नुहुन्छ ।

२०७४ को निर्वाचनमा एकै ठाउँमा उभिएका नेपालका दुई ठुला वाम घटक सत्तामा पुगेपछि विभिन्न स्वार्थका कारण विवादित र विभाजित बनेका थिए । यो बीचमा चीनले देखाएको सद्भाव सामान्य थिएन ।

कम्युनिष्ट नेतृत्वको सरकार ढलेपछि चिनियाँ अधिकारीको नेपाल भ्रमण झनै बाक्लिएको छ । त्यसो त नेकपाकै सरकारका पालामा २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

यस्तो भ्रमण चीनबाट २३ वर्षपछि भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको बहुमतलाई चीनले कसरी लिन्छ भन्ने कुराको दृष्टान्त त्यो भ्रमणलाई पनि लिन सकिन्छ । यसर्थ नेपालका वाम दलहरु आशन्न निर्वाचनको गृहकार्यमा रहेका बेला हुन लागेको चीनको उच्चस्तरीय भ्रमण थप चासोमा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्