राजनीति

‘प्रधानमन्त्री अफर’ कार्ड खेलाएर कांग्रेस धम्क्याउँदै प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते १६:५८
‘प्रधानमन्त्री अफर’ कार्ड खेलाएर कांग्रेस धम्क्याउँदै प्रचण्ड (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउनुभएको छ ।

यसअघि पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउँदै राजनीतिक बार्गेनिङ गरेका माओवादी अध्यक्ष प्रचण्ड फेरि आफूलाई प्रधानमन्त्रीको अफर आएको भन्ने कार्ड खेलाएर पाँच दलीय सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसलाई धम्क्याउन थाल्नु भएको छ । के प्रचण्डलाई प्रधानमन्त्रीको अफर आएकै हो त ?

२०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको गठबन्धन सरकारका बेला पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर आएको भन्दै ओलीलाई घुर्की लगाउने गर्नुभएको थियो । नभन्दै ओली प्रधानमन्त्री बनेको नौ महिनापछि गठबन्धन भत्कियो र कांग्रेससँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ।

२०७४ को आम निर्वाचनमा वाम गठबन्धनले झण्डै दुई तिहाई मत प्राप्त गरेपछि एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला एमाले र माओवादी पार्टी एकीकरण नै गरेर जाने भएपछि प्रचण्डले प्रधानमन्त्रीको अफरवाला पदावली त प्रयोग गर्नुभएन तर पाँच वर्षे कार्यकालमा आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने लिखित सम्झौता ओलीसँग गरेको खुलासा गर्दै बार्गेनिङ थाल्नुभयो । यो बार्गेनिङका कारण एकीकरणको केही समयमै पार्टीमा दरार देखिन थाल्यो । अन्ततः पार्टी विभाजन नै भयो । पार्टी विभाजन हुँदासम्मका प्रकरणहरु भने अनेक भए ।

यतिबेला स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि प्रचण्डले कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने घुर्की लगाउँदै आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउन थाल्नुभएको छ । गत वर्ष मात्रै पार्टी विभाजन भएपछि ओली र प्रचण्डबीचको सम्बन्ध निकै तिक्त छ ।

सार्वजनिक मञ्च पाउनासाथ दुई नेता एकअर्काकाको खोइरो खन्न घण्टौँ बिताउँछन् । तर यस्तो समयमा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर आएको खुलेआम बताउनु भने रहस्यपूर्ण छ । गठबन्धनमा भएका दलबाहेक सत्ता फेरबदलको खेल गर्न सक्ने पार्टी भनेको एमाले मात्रै हो ।

तिक्ततापूर्ण सम्बन्धमा गुज्रिरहेका यी पार्टीले एकअर्कालाई कसरी प्रधानमन्त्रीको अफर गरेर पुनः गठबन्धन गर्न सक्लान् भन्ने शंसय छ । त्यसमाथि एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादीसँग गठबन्धनको कुनै गुञ्जायस नै नरहेको दाबी गर्नुभएको छ । तर प्रचण्डले सार्वजनिक रुपमै यस्तो अभिव्यक्ति दिएपछि दालमा केही कालो पक्कै छ भन्ने अनुमान लगाउन कठिन छैन ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अब वाम एकताको विकल्प नभएको बताइरहनु भएको छ । स्थानीय निर्वाचनपछि त गुरुङको वाम एकताको बाँसुरी झनै हाई पिचमा बज्दै गएको छ । अध्यक्ष ओलीसहित एमालेको ठूलो पंक्ति माओवादीविरुद्ध निषेधको अभिव्यक्तिमा केन्द्रित भइरहेका बेला उपमहासचिव जस्तो व्यक्तिले पटकपटक एकताको बाँसुरी कसरी बजाउन सक्नुहुन्छ ?

नेपालमा वाम शक्तिहरु एक होउन भन्ने अभिलाष उत्तरी छिमेकीको छ । तत्कालीन नेकपाभित्रको विवादमा समेत प्रवेश गरेर नेताहरुको सम्बन्ध जोगाउन अहोरात्र खटेको चीन पछिल्लो समय समग्र माइक्रो म्यानेजमेन्टमै लागेको चर्चा हुने गरेको छ । यस्तोमा छिमेकी रुची र नेपाली वामहरुको स्थानीय निर्वाचनमा भएको कमजोर प्रस्तुति जस्ता कुराले प्रचण्डलाई प्रधानमन्त्रीको अफर आधिकारिक रुपमै भएको हो कि भन्नेमा शंका गर्ने ठाउँ प्रसस्त छन् ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने कुरा त घामजस्तै छर्लङ्ग छ । त्यसमाथि राजनीतिक अस्थिरता बनाइरहने र विभिन्न स्वार्थ समूह खेलिरहने प्रवृत्ति वर्षौँदेखिको छ ।

संघीय र प्रदेशसभा निर्वाचन पनि नजिकिँदै गर्दा राजनीतिक समीकरण फेर बदल गर्ने र चुनावको नतिजा आफ्नो पक्षमा पार्ने होड स्वभाविक रुपमा दलहरुमा बढेको देखिन्छ । त्यसैले प्रचण्डको प्रधानमन्त्री अफर वाला पदावलीलाई खाली बार्गेनिङका रुपमा मात्र नबुझी ‘हावा नचली पात हल्लिन्न’ भन्ने अर्थमा झनै सजिलो हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *