राजनीति

चतुर खेलाडी प्रचण्ड– धम्की र गठबन्धनले सधै सत्ताको बागडोरमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २३ गते २१:४४
चतुर खेलाडी प्रचण्ड– धम्की र गठबन्धनले सधै सत्ताको बागडोरमा (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७९ काठमाडौं । पटकपटक सरकारको नेतृत्व गरेर पनि सम्झिनालायक काम नगरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिका चतुर खेलाडी मानिनुहुन्छ । पार्टीलाई सँधै सरकारमा राखिरहन जुनै हदसम्मको गठबन्धन र सहमति गर्ने उहाँ स्थानीय निर्वाचनका लागि भने मतदातालाई डर देखाएर चुनाव जित्ने ध्याउन्नमा हुनुहुन्छ ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आइसकेर प्रधानमन्त्री पद सम्हालिसकेपछि समेत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जंगल फर्किने धम्की दिनुहुन्थ्यो ।

कयौँ हतियारहरु खोलामा बगेको भन्दै क्यान्टोनमेन्टमा राख्न नमानेका प्रचण्डको बेलाबेलामा आउने त्यस्तो अभिव्यक्तिले कतिपयलाई द्वन्द्व र त्रासदीपूर्ण दिनको पुनरागमन हुने हो कि भन्ने त्रास पैदा हुन्थ्यो । कतिपयलाई भने प्रचण्ड मानिसलाई त्रसित पार्न जुन हदसम्मको अभिव्यक्ति पनि दिन पछि पर्नुहुन्न भन्ने लागिसकेको थियो ।

त्यसपछिका झण्डै दुई दशकमा प्रचण्डले मानिसलाई त्रसित बनाउने र राजनीतिक रोटी सेक्नेक्रमलाई निरन्तर अगाडि बढाउनुभयो । राजनीतिमा छक्कापञ्जा गर्न माहिर प्रचण्डले आम नागरिकलाई मात्र होइन राजनीतिक दलका नेताहरुलाई पनि डर, धम्की, त्रासदेखि प्रलोभनमा समेत पार्दै आउनु भएको छ ।

सुरुमा डर देखाउने, सहानुभूति दिने र फेरि डरको क्रमलाई बढाउने कुटिल राजनीतिमा खप्पिस प्रचण्ड गत आम निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गर्न सफल हुनु भएको थियो भने यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गरेर चुनावी मैदानमा हुनुहुन्छ ।

गत आम निर्वाचनको केही महिनाअघि मात्रै भएको स्थानीय तह निर्वाचनमासमेत कांग्रेससँग जोडिएको प्रचण्डको घाँटी क्षेणभरमै एमालेसँग जोडिएको थियो ।
केही महिनाअघि मात्रै अमेरिकी सहयोग परियोजना एमसीसी पारितका सन्दर्भमा भइरहेको बहस र छलफलका क्रममा प्रचण्डले कार्यकर्तालाई सडकमा उतारेर आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गर्नुभयो ।

एमसीसी पास गर्न मुस्किल पर्ने खालको वातावरण बाहिर सिर्जना गर्ने र भित्र चुनावी गठबन्धनको मोलमोलाई गर्ने भूमिकामा उहाँ सफल हुनुभयो । अन्ततः व्याख्यात्मक टिप्पणीको खोल ओडाएर एमसीसी पारित गरेपछि उहाँले भरतपुरमा महानगरपालिकामा आफ्नी पुत्री रेणु दाहालको टिकट पक्का गर्नुभयो ।

चितवनको यही मञ्चमा गत आम निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई लगेर कम्युनिष्ट गठबन्धनको भाग्यरेखा कोरेका प्रचण्डले यसपटक यही मञ्चबाट कांग्रेससँगको २० वर्षीय गठबन्धनको भविष्यवाणी गर्नुभयो । यो मञ्चमा त भविस्यवाणी मात्र थिएन, प्रचण्डले गठबन्धन नभए देश दुर्घटनामै पर्ने धम्की कांग्रेस निकट मतदातालाई दिनुभयो ।

मतदातालाई त्रस्त पारेर चुनाव जित्ने प्रचण्डको अभिव्यक्ति सुनिरहेका कांग्रेस नेताहरु भने रेणु दाहालको कामको प्रशंसा गर्दै आफ्ना मतदातालाई हँसिया हथौडामा भोट हाल्न आग्रह गर्दै थिए ।

तर प्रचण्ड भने रेणु दाहालको कार्यकालको कुरा गर्न छोडेर फेरि पनि नजिताए राम्रो नहुने धम्कीमै उत्रिएर राजनीतिक निकृष्टता प्रस्तुत गर्नुभयो ।

एमसीसी प्रकरणमा एमाले अध्यक्ष ओलीलाई फकाउन गएर कांग्रेसलाई घुर्की लगाएका प्रचण्डले यतिबेला कांग्रेस नेताहरुलाई मञ्चमै राखेर रेणु नजिताए गठबन्धन मात्र होइन देश नै दुर्घटनामा पर्ने अभिव्यक्ति दिनुभयो ।

कुनै पनि नेताले आफ्ना मतदातासमक्ष आत्मबल, आत्मविश्वास र विकासका प्रतिबद्धता प्रस्तुत गर्नुपर्ने हो । नागरिकको मन जित्नुपर्ने हो । तर राजनीतिमा आफू नभए सर्बनाश हुन्छ भन्ने अभिव्यक्ति दिएर मतदातालाई डर पैदा गराउने काम गर्नुभयो । यस्ता अभिव्यक्तिधारी प्रचण्डको बहुरुपी चरित्रले गठबन्धनको भविस्य १५–२० वर्ष होला वा निर्वाचन परिणामसँगै समाप्त होला, त्यसका लागि भने धेरै दिन कुर्नुपर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्