विदेश

पूर्वी डोनबास क्षेत्रमा रुसले भिषण आक्रमण गरिरहेको युक्रेनको दाबी

हिमालय टिभी
२०७९ वैशाख ६ गते ८:१०
पूर्वी डोनबास क्षेत्रमा रुसले भिषण आक्रमण गरिरहेको युक्रेनको दाबी

६ वैशाख २०७९ युक्रेन । पूर्वी डोनबास क्षेत्रमा रुसले भिषण आक्रमण गरिरहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

डोनबास कब्जा गर्न रुसले ठूलोस्तरको हमला थालेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । टेलिभिजनमार्फत्‌ उनले डोनबासका लागि युद्ध शुरू भएको बताए ।

डोनबासमा जति धेरै रुसी सैनिक आए पनि आफूहरु लड्ने र आफ्नो रक्षा गर्ने उनको भनाइ छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले यसअघि रुसले डोनबास, लुहान्स्क र खार्किभ क्षेत्रमा प्रतिरक्षा तोड्ने प्रयास गरेको बताएका थिए ।

पछिल्लो समय देशका विभिन्न शहरमा रुसी हमलामा कम्तीमा ९ जनाको मृत्यु भएको युक्रेनी अधिकारीले बताएका छन् ।

यसैबीच युक्रेनी अधिकारीले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

नगर परिषद्‌का अनुसार भूमिगत आश्रयस्थलहरूमा एक हजार सर्वसाधारणले शरण लिइरहेका छन् । मारिपोलमा बाँकी रहेको युक्रेनी सेनाको अन्तिम जत्थाका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कन सुरक्षित मार्ग दिन अपिल गरेका छन् ।

त्यहाँ फसेका मानिसलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन । रुस(युक्रेन युद्धका कारण ४९ लाखभन्दा बढी युक्रेनी अहिले देश छोडेर पलायन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *