विदेश

२०७८ मा कस्तो रह्यो विश्वको अवस्था, संक्षिप्त विश्लेषण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ३० गते २१:१२
२०७८ मा कस्तो रह्यो विश्वको अवस्था, संक्षिप्त विश्लेषण (भिडियो रिपोर्टसहित)

३० चैत २०७८ काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै वर्ष २०७८ हामीबाट विदा हुँदैछ । कोरोना महामारी, राजनीतिक अनिश्चितता, प्राकृतिक प्रकोप लगायतका विभिन्न घटनाले यो वर्ष पनि विश्व तरंगित बन्यो । जसको प्रभाव लामो समयसम्म विश्वका विभिन्न मुलुकमा पर्ने देखिन्छ ।

दुई वर्ष देखि कोराना महामारीले थलिएको विश्व वर्ष २०७८ मा भने तंग्रिने अबस्थामा पुग्यो । महामारीविरुद्धको खोपको प्रभावले जनजीवन सामान्य अबस्था बन्दै गयो । प्रतिबन्धात्मक नियमहरु खुकुलो हुँदै आर्थिक गतिविधि बढ्न थाले । कोरोना महामारी अन्त्य हुने दिशामा गएको संकेत देखियो ।

२०७८ को भाद्र १५ मा तालिवानले अफगानिस्तान कब्जा गर्दा पूरै विश्व तरंगित बन्यो । अफगानिस्तानमा अमेरिकाले २० वर्षे सैन्य अभियान एकाएक अन्त्य गरेपछि राष्ट्रपति अशरफ घानीले मुलुक छाडे, तालिवानले सहज सत्ता कब्जा गर्यो । तर अस्थिरताको दलदलमा फसेको यो मुलुकको भविष्य यो वर्ष पनि हरेक हिसाबले अन्योलमै बित्यो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुत वर्ष २०७८ मा पनि उत्तर कोरियाले मिसाइल परीक्षण जारी राख्यो । अमेरिका र छिमेकी दक्षिण कोरियालाई धम्की दिन नछाडेको यो मुलुक खाद्यान्नको चर्को मारमा परेका खबरहरु वर्षै भरि आइरहे ।

पुष महिनामा नजरबन्दमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीलाई सैन्य सरकारले चार वर्षको जेल सजायँ सुनायो । सेनाले सत्ता हत्याउँदै सूचीलाई पक्राउ गरेपछि विभिन्न अभियोगमा सजाय थपिरह्यो ।

सुडानमा नागरिक सरकार अपदस्थ गरि कार्तिक महिनाा सेनाले कू गर्यो । विरोध प्रदर्शनमा उत्रिएने दर्जनौंको मृत्यु भयो ।

माघ महिनामा प्रसिद्ध भारतीय गायिका लता मंगेश्करको निधनले विश्व संगीतजगत स्तब्ध बन्यो ।

माघ महिनामै भारतीय सेना प्रमुख जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भयो ।

फागुनको अन्त्य तिर रुसले युक्रेनमा सैन्य आक्रमण गर्दा विश्वले शुरुमा विश्वासै गर्न सकेन । आफ्नो सुरक्षा चासोमा युक्रेन अवरोधको रुपमा देखा परेको भन्दै रुसले युक्रेनमा आक्रमण गरेर तेस्रो युद्धको त्रास श्रृजना गर्यो । सयौं मानिसको मृत्यु भयो । लाखौ मानिस पलायन भए । विश्व मुखदर्शक जस्तै बन्यो । शान्ति वार्ताले वर्षको अन्त्यसम्म पनि सार्थकता पाउन सकेन ।

वर्षको अन्त्य चैत्रमा आएर दक्षिण एसियाली मुलुक पाकिस्तानको राजनीतिले एकाएक नयाँ मोड लियो । प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षीहरु एक जुट भए । संसद विघटनको निर्णयलाई अदालतले उल्टाइदियो । खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भयो । पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शेहेवाज शरिफ नयाँ प्रधानमन्त्री चुनिए ।

चैत्र महिनामै दक्षिण एसियाली मुलुक श्रीलंका टाट पल्टिएको घोषणा भयो । परीक्षा सञ्चालनका लागि कपी र मसी किन्ने पैसा समेत भएन भने औषधिको अभाव हुन थाल्यो । क्रणको बोझले थला परेको यो मुलुकका सबै मन्त्रीले राजीनामा दिए ।

ब्राजिल, इण्डोनेसिया, अमेरिकामा यो वर्ष पनि बाढी पहिरो, ज्वालामुखी विष्फोटले गहिरो पीडा दियो । जलवायु परिवर्तनको मुद्धाले यो वर्ष पनि प्राथमिकता पाइयो

यसरी विभिन्न घटना क्रममा साक्षी बन्दै वर्ष २०७८ हामीबाट विदा हुंदैछ । आशा गरौं नयाँ वर्ष २०७९ सबैका लागि सुखद र सफल बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *