विदेश

पाकिस्तानमा प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित

२०७८ चैत २७ गते ८:५७
पाकिस्तानमा प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित

२७ चैत २०७८ इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।

हिजो राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा १ सय ७४ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको थियो । ६९ वर्षीय इमरान खान अविश्वास प्रस्तावबाट सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्।

संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ। नयाँ प्रधानमन्त्री छान्नका लागि भोलि संसदमा मतदान हुने बीबीसीले जनाएको छ । नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि आमचुनाव हुनेछ ।

मतदान अघि प्रधानमन्त्री खानले आफुलाई हटाएर विपक्षीको सरकार बनाए त्यसलाई मान्यता नदिने चेतावनी दिएका थिए । उनले अमेरिका र विपक्षीले षड्यन्त्र गरेर आफुलाई हटाउन खोजेको आरोप समेत लगाएका छन् ।

अमेरिकाले आरोपमा कुनै सत्यता नभएकोू बताएको छ। विपक्षी सांसदहरूले गत आइतबार संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । तर संसदका उपसभामुख कासिम सुरीले विदेशी हस्तक्षेप देखाउँदै मतदान प्रक्रिया अवरुद्ध गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै तत्काल चुनाव गराउने निर्णय गरेका थिए । निर्णयविरुद्ध विपक्षी अदालत पुगेका थिए ।

गत बिहीबार सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भन्दै मतदान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *