विदेश

पाकिस्तानमा संसद विघटन, तीन महिनाभित्र चुनाव हुने

हिमालय टिभी
२०७८ चैत २० गते १४:५४
पाकिस्तानमा संसद विघटन, तीन महिनाभित्र चुनाव हुने

१९ चैत २०७८ इस्लामावाद । पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले त्यहाँको संसद विघटन गरेका छन् ।

प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गर्दै ९० दिनमा मध्यावधि चुनाव गर्न निर्देशन दिएका छन् ।

उपसभामुख कासिम सुरीको अध्यक्षतामा बसेको संसद बैठकले आफूविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्दै खानले नयाँ निर्वाचनको तयारी गर्न पनि आह्वान गरेका थिए ।

सभामुखविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि उपसभामुख सुरीले संसद्‍को अध्यक्षता गरेका हुन् । उनले अविश्वास प्रस्ताव पाकिस्तानको संविधानको धारा ५ सँग बाझिएको बताएका थिए ।

सभामुख असद वासेरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद्‍ विघटनको प्रस्ताव गरेका थिए । खानले विदेशी षड्यन्त्रमा सत्ता परिवर्तन गर्ने कोसिस भएको भन्दै आएका छन् ।

यसअघि उनले अमेरिकी सहयोगमा आफूलाई पदबाट हटाउने कोसिस भइरहेको आरोप लगाएका थिए ।

यसैबीच पाकिस्तानका महान्यायाधिवक्ताले पदबाट राजीनामा दिएका छन् । विपक्षी दलले संसद विघटन विरुद्ध मुद्दा दायर गरेका छन् । त्यहाँको सर्वोच्च अदालतले विशेष इजलास नै गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *