विदेश

रुसले युक्रेनको राजधानी किभ र चेर्निहिवमा सैन्य गतिविधि कम गर्ने

हिमालय टिभी
२०७८ चैत १६ गते ८:०५
रुसले युक्रेनको राजधानी किभ र चेर्निहिवमा सैन्य गतिविधि कम गर्ने

१६ चैत २०७८ मस्को । रुसले युक्रेनको राजधानी किभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको छ ।

रुसका उपरक्षामन्त्री अलेक्जेण्डर फोमिनलेले किभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय भएको बताए । टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच शान्ति वार्तापछि रुसी उपरक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।

उनले दुई देशबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक वातावरण सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरेको बताए । वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी गतिविधिमाथि निगरानी भइरहेको बताए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने सकारात्मक संकेतले रुसी आक्रमणलाई दबाउन नसक्ने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि सावधानी अपनाउनुपर्ने बताएका छन् । रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक ऊर्जा दिएको चीनले जनाएको छ ।

यसैबीच ईयूका चार देशले रुसका ४३ जना कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीको आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुस र युक्रेनबीचको वार्तामा प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ । यस्तै वार्तामा प्रगति भएको खबरले युरोपको शेयर बजार पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *