रुसी आक्रमणबीच युक्रेनको मारिपोलमा हजारौ नागरिक फसे
९ चैत २०७८ युक्रेन । युक्रेनको मारिपोलमा रुसी आक्रमणका बीच हजारौं मानिस फसेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिपोलमा रुसी आक्रमणका कारण अब केही बाँकी नरहेको बताए । मारिपोलमा झण्डै एक लाख मानिस अमानवीय अवस्थामा रहेको उनको भनाइ छ ।
रुसी आक्रमणकाबीच बिजुली, खाना, पानी र औषधि बिना उनीहरु बसिरहेको उनले जनाएका छन् । त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकलाई उद्धार गर्ने प्रयास रूसी गोलाबारीका कारण अवरोध भएको उनले बताए ।
एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको बताउँदै उनले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए । उता युक्रेनी सेनाले रुसी फौजलाई माकारिभबाट पछाडि हटाएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।
तर रुसी सेनाले राजधानी किभको उत्तर(पश्चिममा रहेका तीन उपनगर बुचा, होस्टोमेल र इरपिनमाथि आंशिक रूपमा कब्जा गरेका छन् ।
उता पश्चिमी देशका अधिकारीले रूसी सेनाले खाद्यान्न र इन्धनको गम्भीर अभावको सामना गरिरहेको बताएका छन् ।
प्रतिक्रिया