विदेश

युद्धविराम नभएसम्म रुससँग कुनै छलफल नगर्ने युक्रेनी राष्ट्रपतिको अडान

हिमालय टिभी
२०७८ फागुन २९ गते ७:३६
युद्धविराम नभएसम्म रुससँग कुनै छलफल नगर्ने युक्रेनी राष्ट्रपतिको अडान

२९ फागुन २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले युद्धविराम नभएसम्म रुससँग कुनै छलफल अघि नबढ्ने बताएका छन् ।

राजधानी किभमा गरिएको पत्रकार सम्मेलनमा जेलेन्स्कीले रुसी सेनाले अस्थायी रुपमा शहरहरु कब्जा गरेपनि युक्रेनीको मस्तिष्क कब्जा गर्न नसक्ने चेतावनी दिए ।

उनले रुसी आक्रमणमा हालसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको जनाए । ६ सयसम्म रुसी सेनाले आत्मसमर्पण गरेको उनको दाबी छ । युक्रेन युद्धमा हालसम्म ६ हजार रुसी सेनाको मृत्यु भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मेलिटापोलका मेयरलाई अपहरण गरेर नयाँ मेयर घोषणा गर्नु रुसी सेनाको लोकतन्त्रविरुद्धको अपराध भएको आरोप लगाए । अपहरणको विरोधमा शहरमा सयौंले प्रदर्शन गरेका छन् ।

यता जेलेन्सीकले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग युद्ध अन्त्यका लागि शान्ति वार्ताको विषयमा छलफल गरेका छन् । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति इमान्युयल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धविरामका लागि सहमति गराउन आग्रह गरेका छन् ।

यसैबीच युक्रेन युद्धको १८ औं दिन रुसी सेना किभको भित्री भागतर्फ लम्किंदै गर्दा बाहिरी भागमा पनि आक्रमण तीब्र पारिएको छ । चेर्निहिब, खार्किभ, मारिओपोल, सीमा शहरमा पनि घेराबन्दी गरिएको र व्यापक गोलाबारी भएको छ । रुसी सेनाले मारिओपोलबाट मानवीय उद्धार रोकेको युक्रेनको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *