विदेश

युक्रेनमा अस्थायी युद्धविराममा पनि रुसी आक्रमण जारी, पुटिनले दिए यस्तो चेतावनी

हिमालय टिभी
२०७८ फागुन २२ गते ८:२३
युक्रेनमा अस्थायी युद्धविराममा पनि रुसी आक्रमण जारी, पुटिनले दिए यस्तो चेतावनी

२२ फागुन २०७८ युक्रेन । रुसले अस्थायी युद्धविरामका बीच पनि युक्रेनमा आक्रमण जारी राखेको छ ।

युद्धको दशौ दिन मारिओपोल र भोल्नोव शहरमा हिजो अस्थायी युद्धविराम लागू गरे पनि आक्रमण जारी रहंदा सर्वसाधरण सुरक्षित स्थानतर्फ जान नपाएको युक्रेनी अधिकारीले बताएका छन् ।

सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने काम स्थगित नै गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । शहरका मेयरले अझै बमवारी भइरहेको जनाएका छन् ।

रुसले भने युक्रेनी राष्ट्रवादीहरुले नागरिकलाई शहर छाड्न नदिएको आरोप लगाएको छ । रुसले हिजो मात्र मारिओपोल र भोल्नोवाका शहरमा मानवीय सहायता द्वारमा अस्थायी युद्धविरामको घोषणा गरेको थियो ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि मुलुकले युक्रेनमा नो फ्लाई जोन लागू गरे उसलाई जारी युद्धमा सामेल भए बराबर मानिने चेतावनी दिएका छन् ।

सरकारी विमान कम्पनी एयरोफ्लोटका कर्मचारीहरुसँगको भेटघाटमा उनले युक्रेनमाथि नो फ्लाई जोन लागु गर्ने जुनसुकै मुलुक युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने बताएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोमाथि नो फ्लाई जोन घोषणा नगरेकोमा चर्को आलोचना गरेका थिए । नेटोले भने नो फ्लाई जोन घोषणा पछि जारी युद्ध अन्य देशमा पनि सल्किने जनाएको छ ।

पुटिनले आफ्नो देशमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको पनि बताए । उनले आफ्नो कदम सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा मात्र चालिने स्पष्ट पारेका छन् ।

पुटिनले युक्रेन आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्धलाई युद्धको घोषणा जस्तै भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *