युक्रेनमाथि रुसी आक्रमण तेस्रो दिन पनि जारी, रुसी सेना राजधानी किभ नजिक

१४ फागुन २०७८ युक्रेन। रुसले युक्रेनमाथिको आक्रमण तेस्रो दिन पनि जारी राखेको छ।
रुसी सेना आक्रमण गर्दै राजधानी किभतर्फ अघि बढिरहेको बीबीसीले जनाएको छ । उनीहरुले किभ नजिकको एयरवेश कब्जा गरेको छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको केही घण्टामै किभमा रुसी सेनाले धावा बोल्ने बताएका छन् ।
किभका नगरप्रमुखले यसअघि नै शहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए । जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि अपील गरेका छन् ।
रुसी आक्रमण रोक्न बेलायत र मित्र राष्ट्रहरुसँग उनले आग्रह गरेका छन् । तर रुसलाई युद्धका लागि उक्साएको आरोप लागेका अमेरिकालगायतका पश्चिमा मुलुकले भने सैन्य सहयोग नगर्ने बताएका छन् ।
युक्रेनलाई एक्लै युद्धमा छोडेको युक्रेनी राष्ट्रपतिको दुखेसो छ । रुसी राष्ट्रपति भ्दालिमिर पुटिनले युक्रेनको सरकारलाई सत्ताबाट हटाउन युक्रेनी सेनालाई भनेका छन् । रुसको रक्षा गर्न अन्य कुनै विकल्प नरहेको बताउँदै पुटिनले आफ्नो प्रतिरक्षा गरेका छन् ।
पश्चिमा अधिकारीहरुले भने युद्ध जित्न पुटिनले जे पनि गर्न सक्ने बताएका छन् । यता युक्रेन आक्रमणको निन्दा गर्ने संयक्त राष्ट्रसंघको प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ ।
उता राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले आक्रमणका कारण १ लाख युक्रेनीले आफ्नो थातथलो छाडेको र यो संख्या ५० लाखसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया