राष्ट्र संघीय सुरक्षा परिषद बैठकमा अमेरिका र रुसी राजदूतबीच चर्काचर्की

१८ माघ २०७८ न्युयोर्क । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसका राजदूतबीच चर्काचर्की भएको छ।
रुसले युक्रेनसंगको सीमामा सैनिक परिचालन गरेपछि अमेरिकाको आग्रहमा बसेको परिषद्को बैठकमा दुई मुलुकका राजदूतबीच चर्काचर्की भएको हो ।
अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौंमा युरोपले देखेको सबैभन्दा ठूलो बताइन् । सिमानामा सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको उनको आरोप थियो ।
उनले अमेरिकाले समस्याको कूटनीतिक समाधान चाहेको र रुसले कुनै प्रकारको हस्तक्षेप गरे त्यसको उचित जवाफ दिइने चेतावनी दिइन् ।
उता रुसी राजदूत भासिली नेबेन्ज्याको भने अमेरिकाले शक्तिको उन्माद देखाएको, युक्रेनबारे अनावश्यक हल्ला फैलाएर आतंकित बनाइरहको बताए ।
युक्रेनमा रुसी हस्तक्षेपबारे कुनै प्रमाण नभएको बताउँदै राष्ट्र संघले पनि यसबारे पुष्टि नगरेको उनको भनाइ छ। नेबेन्ज्याले रुसी सेना आफ्नै क्षेत्रमा तैनाथ रहेको दाबी गरे ।
यसअघि रुसले राष्ट्र संघको खुल्ला सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन । युक्रेनमाथि आक्रमण भए अमेरिका र बेलायतले रुसमाथि कडा प्रतिबन्ध लगाउने बताइसकेका छन् ।
प्रतिक्रिया